जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?

५ बैशाख २०७८, आईतवार ११:३८

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् ।

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनी सञ्चालक समिति अन्तर्गत रहेको लगानी तथा दावी भुक्तानी उपसमितिमा रहेका अग्रवाललाई बीमा समितिले हालसम्म लगानी गर्दा व्यक्तिगत लाभका आधारमा विभिन्न निर्णयहरु समेत नगराई प्रचलित कानुन, कम्पनीले पालना गर्नुपर्ने आवश्यक प्रक्रिया समेत पूरा नगरी सर्वसाधारणको लगानी रहेको संस्थाबाट करोडौं रुपैयाँ लगानी गरेको आरोपमा गत शुक्रबार निलम्वन गरेको हो । अग्रवाल जनरल इन्स्योरेन्स कम्पनी सञ्चालक समितिका लगानी समितिका अध्यक्ष हुन् । लगानी समितिका अध्यक्ष हुनुका नाताले सो कम्पनीले गर्ने महत्वपूर्ण लगानीहरुमा उनै अध्यक्षको प्रत्यक्ष हात हुने गर्दछ । निज अग्रवालले आफ्नो शेयर रहेको कम्पनीहरुको शेयर दोस्रो बजारबाट खरिद गरी पुँजिबजारमा प्रभाव पार्न खोजेको समेत देखिएको बीमा समितिले सार्वजनिक गरेको विवरणहरुबाट पुष्टि हुन आएको छ ।

एउटा बीमा कम्पनीको सञ्चालक सीमाभित्र रहनुपर्ने अग्रवाल आफैले कम्पनीको नाममा शेयर कारोबार गर्न प्रयोगकर्ता नम्वर तथा पासवर्ड लिई आफुखुशी दोस्रो बजारबाट शेयर खरिद गरेको पुष्टि भएको आधारमा बीमा समितिले निलम्वन गरेको जनाएको छ ।

बीमा समितिले निलम्वन गरेका अग्रवाल सदस्य रहेको दावी भुक्तानी समेत विवादमा परेको छ । स्याङ्जास्थित एक कुखुरा फर्ममा क्षति पुगेको भन्दै भुक्तानी गरिएको तीन करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले दावी भुक्तानीको लागि योग्य नभएकोले पुनर्बीमा भुक्तानी नहुने नोट दिइसको छ । यता, जनरल इन्स्योरेन्स कम्पनीले भने सो को भुक्तानी दिइसकेको छ । सो विषयमा बीमा समितिले थप अनुसन्धान गर्न बाँकी छ । दावी भुक्तानी समितिका अध्यक्ष शशी अग्रवालले सोही कारण केही पहिले राजिनामा दिएको बताइन्छ ।

स्थापनाकालदेखि सिईओ नभई कामुको भरमा चलेको संस्थाका तत्कालिन प्रमुख एसके तमोट केही महिना पहिले कम्पनी छोडिसकेका छन् । जिम्मेवारी ठोस रुपमा लिने सिईओ नियुक्त नगर्ने र सञ्चालकहरुले आफुखुशी संस्था चलाउँदै आएको जनरल इन्स्योरेन्स कम्पनीभित्र अझै कैयौं काण्डहरु रहेको बताइन्छ । चरम बेथिति र भद्रगोल अवस्थामा पुगेको जनरल इन्स्योरेन्स कम्पनीभित्रको विभिन्न काण्डहरुको एकमुष्ट रुपमा स्वतन्त्र छानविन गर्न बीमा समितिले उच्चस्तरीय समिति नै गठन गर्नुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*