वाणिज्य बैंकको खुद ब्याज आम्दानी ४९ अर्ब ६७ करोडः नबिललाई पछ्याउँदै ग्लोबल, १४ बैंकको २ अर्बमाथि

१६ कार्तिक २०८३, सोमबार ११:२०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी ४९ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म कुल ४९ अर्ब ६७ करोड ८० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४९ अर्ब २० करोड २९ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । प्रतिशतका आधारमा यस्तो वृद्धि ०.९७ प्रतिशत मात्रै हो । समग्रमा खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिए पनि आधा बैंकको आम्दानी भने घटेको छ ।

सर्वाधिक खुद ब्याज आम्दानी गर्ने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ७३ करोड ७० लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९० करोड १२ लाख ६० हजार रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी यस वर्ष २१.४२ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानीका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले समीक्षा अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा बैंकको यस्तो आम्दानी १.४६ प्रतिशतले मात्रै बढेको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक ४ अर्ब १ करोड ४६ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानीसहित तेस्रो स्थानमा रहेको छ । रकमका आधारमा तेस्रो स्थानमा रहे पनि आम्दानी वृद्धिदरका हिसाबले भने राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३७.४६ प्रतिशतले बढेको हो ।

यसैगरी, एनआईएमबीले ३ अर्ब २७ करोड १६ लाख ८५ हजार, लक्ष्मी सनराइज बैंकले २ अर्ब ७६ करोड १७ लाख २० हजार, प्राइम बैंकले २ अर्ब ६० करोड ५७ लाख ७२ हजार र एनएमबी बैंकले २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

नेपाल बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले क्रमशः २ अर्ब ४८ करोड ९५ लाख ७४ हजार, २ अर्ब ३८ करोड ९६ लाख ९३ हजार र २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । त्यस्तै, कृषि विकास बैंकले २ अर्ब ३६ करोड २५ लाख ७० हजार, प्रभु बैंकले २ अर्ब ३३ करोड ४७ लाख २५ हजार र हिमालयन बैंकले २ अर्ब १९ करोड ८६ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

आम्दानी वृद्धिदरमा राष्ट्रिय वाणिज्य बैंकपछि माछापुच्छ्रे बैंक दोस्रो स्थानमा रहेको छ । बैंकको खुद ब्याज आम्दानी १५.६० प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सिद्धार्थ बैंकको १०.५० प्रतिशत, सानिमा बैंकको ९.४२ प्रतिशत र प्राइम बैंकको ८.२४ प्रतिशतले आम्दानी बढेको छ ।

यता, २० वाणिज्य बैंकमध्ये १० बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । सबैभन्दा धेरै कुमारी बैंकको आम्दानी २८.१९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

त्यस्तै, प्रभु बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । एनआईसी एसिया बैंकको १७.३६ प्रतिशत, हिमालयन बैंकको १२.३० प्रतिशत र सिटिजन्स बैंकको ७.४९ प्रतिशतले आम्दानी घटेको छ ।

यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.९७ प्रतिशत, कृषि विकास बैंकको ३.७२ प्रतिशत, नेपाल एसबीआई बैंकको ३.७१ प्रतिशत, नेपाल बैंकको ३.११ प्रतिशत र एभरेष्ट बैंकको १.३५ प्रतिशतले खुद ब्याज आम्दानी घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*