३८ बीमा कम्पनीले नौ महिनामा उठाए एक खर्ब १६ अर्ब बीमा शुल्क

नेपाल लाइफ सबैभन्दा अगाडि र निर्जिवनमा शिखरको अग्रता कायमै
१५ बैशाख २०७८, बुधबार २१:१०

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६ करोड र निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल विश्वव्यापी फैलिरहेका कारोना महामारीकै बीचमा नेपालका बीमा कम्पनीहरुले उल्लेख्य बीमा शुल्क संकलन गर्न सफल भएका हुन् ।

गत आर्थिक वर्षको चैतको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ४६.७७ प्रतिशतले बढेर ९३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्ममा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ९५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका थिए । महामारीकै बीचमा जीवन बीमा कम्पनीहरुले उत्कृष्ट व्यवसाय गरेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि कुल बीमाशुल्क १८ प्रतिशतले बढाएर २३ अर्ब २ करोड रुपैयाँ संकलन गरेका छन् । गत आर्थिक वर्षको चैतसम्ममा १९ अर्ब ५१ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए । विश्वव्यापी महामारी, कडा लकडाउन, आंशिक निषेधाज्ञाका बीचमा निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुनुमा आम सर्वसाधारणमा बीमा जनचेतना व्यापक रुपमा बृद्धि भएको तथ्याङ्कले औल्याएको छ ।

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९३ अर्ब ८६ करोड रुपैयाँ

संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक तेस्रो त्रैमासको अवधिसम्ममा ९३ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९ महिनाको अवधिमा ८३ लाख ३४ हजार ५ सय ३४ वटा बीमा पोलिसी जारी गरि ९३ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १३ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ८ अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९१ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब १६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब १० करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब ५ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले २ अर्ब ३२ करोड रुपैयाँ, ज्योति लाइफले २ अर्ब २८ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ६८ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २३ अर्ब माथि
१९ वटा निर्जिवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा २३ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने विवरणमा समावेश गरिएको छैन ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा १ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ९५ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ६९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ,प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्सले ९९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ८१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५२ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*