मध्य भोटेकोशीको आईपिओ सबैले भर्न नपाउने, सिन्धुपाल्चोकका कस–कसले पाउँछन् भर्न ?

२१ बैशाख २०७८, मंगलवार ०९:४२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितहरुको लागि खुल्ला गरेको आईपिओ आजदेखि जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ ।

यद्यपि आम सर्वसाधारणले भने उक्त आईीपओमा आवेदन दिन पाउने छैनन् । सर्वसाधारणको लागि पछि छुट्टै सूचना मार्फत आईपिओ खुल्ला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेकोमा आजबाट खुल्ला गरिएको आईपिओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि मात्रै हो । निष्काशन गरिने कुल ६० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुले मात्रै भर्न पाउनेछन् । ३० प्रतिशत शेयर आयोजना प्रभावितहरुको लागि वितरण कार्य सम्पन्न भइसकेपछि बाँकी रहेको ४२ लाख कित्ता शेयरमा कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणको लागि वितरण गरिने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाका तोकिएको क्षेत्रका सर्वसाधारणले आईपीओ भर्न चाहेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतामा ४०० कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । बीबी रेटिङ नेपालको सन्दर्भमा निकै राम्रो मानिन्छ ।

गत वर्ष मध्य भोटेकोशी हाइड्रोपावरमा बाढीले क्षति पुर्याउँदा करोडौं रुपैयाँको क्षति पुगेको थियो । यद्यपि बीमा गरिएकोले कम्पनीले सम्पूर्ण क्षतिको दायित्व बहन गर्नु परेको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*