युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?

२२ बैशाख २०७८, बुधबार १०:३६

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्येमा सबैभन्दा उत्कृष्ट कार्य गर्दै पुराना कम्पनीहरुलाई चुनौति दिँदै अघि बढेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको देखिएको छ ।

विवरण अनुसार कम्पनीले हालसम्म छ अर्ब ९० करोड दुई लाख १० हजार ६९१ रुपैयाँको जीवन बीमा कोष बनाउन सफल भएको छ । जुन नयाँ कम्पनीहरु मध्येको सबैभन्दा ठूलो हो । त्यस्तै, जगेडा कोष र महाविपत्ति कोष ६५ प्रतिशते बृद्धि गरी कूल कोषको आकार सात अर्ब ७१ करोड २१ लाख १५ हजार २०६ रुपैयाँको कोष खडा गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष र अन्य कोषहरु नै बलियोपना मापनका आधार मानिन्छ ।

कम्पनीले नौ महिनामा पाँच अर्ब पाँच करोड ५१ लाख १५ हजार ६२० रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा कम्पनीले जम्मा तीन अर्ब १७ करोड १४ लाख पाँच हजार ४८० रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकोमा यस आवमा ५९.४ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । कोरोना महामारीका बीचमा कम्पनीले बीमा व्यवसायमा उल्लेख्य बृद्धि गरेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै कम्पनीले पाँच अर्ब २४ करोड १६ लाख २३ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आबको तुलनामा ६२ प्रतिशतले बढि हो । समीक्षा अवधीमा कम्पनीको कुल दावी भुक्तानी रकम भने बृद्धि भएको देखिएको छ । १२५ प्रतिशतले दावी भुक्तानी बृद्धि भएको कम्पनीले एक अर्ब ४५ करोड ९७ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ८५ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यस्तै कम्पनीले चालु आवको नौ महिनामा अभिकर्तालाई कमिशन बापत ९६ करोड ४९ लाख ६७ हजार ५३१ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५६.८५ प्रतिशतले बढि हो । कम्पनीले नौ महिनामा ७० करोड ५० लाख ६९ हजार ४१७ रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । जुन अघिल्लो आवको समीक्षा अवधीको तुलनामा ३२.०४ प्रतिशतले बढि हो ।

कम्पनीको मुनाफामा केही संकुचन आएको देखिएको छ । गत आवमा आठ करोड ९२ लाख ५९ हजार १८५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको नौ महिनामा आठ करोड २५ लाख नौ हजार ९९७ रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा ७.५६ प्रतिशतले मुनाफा घटेको देखिएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा घटबढ हुन सक्नेछ ।

कूल एक अर्ब ५० करोड पाँच लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले अबको केही समयपछि आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाउँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*