कनेक्ट आईपिएसबाट १६ बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा पुरस्कार

काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आईपिएसले नेपालमा १६ वटा जीवन बीमा कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा पुरस्कार वितरण गर्ने नयाँ स्कीम आजदेखि सुरु गरेको छ ।
कनेक्ट आईपिएसले आजबाट सुरु गरेको स्कीम अन्तर्गत नेपालमा सञ्चालित रिलायन्स लाइफ, मेट लाइफ, सिटिजन लाइफ, एशियन लाइफ, सानिमा लाइफ, एलआईसी नेपाल, आइएमई लाइफ, नेशनल लाइफ, प्रभु लाइफ, नेपाल लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, युनियन लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फत ७ जनालाई एक हजार रुपैयाँ पुरस्कार पाइनेछ ।
असार महिनासम्म कूल ७ हप्तासम्म सञ्चालन हुने उक्त अभियानमा ४९ जना बीमितिले एक हजार रुपैयाँ बीमा शुल्क आफ्नै खातामा फिर्ता पाउनेछ भने एक जना भाग्यशाली बीमितले तिरेको बीमा शुल्क सम्पूर्ण रकम वा २५ हजार मध्ये जुन कम हुन्छ, सोही रकम फिर्ता पाउने कनेक्ट आईपिएसले जनाएको छ ।
इन्स्योरेन्स प्रिमियम भुक्तानीको ७ मा ७ अफर नाम दिइएको उक्त स्कीम नेपाल क्लीयरिङ हाउसको फेसबुक पेजमार्फत हरेक साता बिजेता घोषणा गरिने जनाइएको छ ।
कोरोना महामारीको समयमा बीमित, अभिकर्ता र कम्पनीलाई सहज बनाउन तथा डिजिटल कारोबारमा प्रोत्साहन गर्न बीमा शुल्क भुक्तानीमा पुरस्कारको व्यवस्था गरिएको कनेक्ट आईपिएसले जनाएको छ । नेपाल क्लीयरिङ हाउसले नै पुरस्कारको रकम खर्च गर्ने गरी उक्त अभियान चलाएको कम्पनीले जनाएको छ । साथै कनेक्ट आईपिएसमा जोडिन बाँकी रहेका कम्पनीहरुसँग आबद्धताको लागि छलफल भइरहेको कम्पनीले जनाएको छ ।














Good