जलजलामा ७५० जनाको निःशुल्क मुटु तथा मृगौला परिक्षण, बिरामीले पाए घरदैलो उपचार

काठमाडौं । यही बैशाख २६ गते शनिबार मुटु जोगाउँ, काठमाण्डौ तथा जलजला गाउँपालिका, पर्बतको आयोजनामा एक दिने निःशुल्क मुटु तथा मृगौला परिक्षण स्वास्थ्य शिविर भव्यताको साथमा सम्पन्न भएकोछ ।
बरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराईको उपस्थितिमा सम्पन्न भएको मुटु शिविरमा जलजला गाउँपालिका स्थानीयबासी तथा छिमेकी जिल्ला म्याग्दी तथा बाग्लुङ समेतका कूल ७५० जनाले निःशुल्क सेवा लिएको जानकारी मुटु जोगाउँ संस्थाका महासचिव शेर बहादुर रानाले बताए ।

महासचिव रानाले सो शिविरमा ४६७ जनाको इसिजी गरिएको थियो । त्यस्तै, २६३ जनाको इसिजी र ईकोकार्डियोग्राफी गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा करिब ७ लाख पचास हजार रुपैयाँ बराबरको औषधीहरु निःशुल्क रुपमा बितरण गरिएको छ ।
यस शिविरमा त्रि.वि.शिक्षण अस्पतालका बरिष्ठ मृगौलारोग बिशेषज्ञ प्रा.डा.दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. अभिषेक मास्केले मृगौलारोगको परिक्षण गरेका थिए । प्रा.डा. दिव्या सिंह शाहका अनुसार लगभग ६५ जनामा मृगौलाको समस्या देखिएको थियो । उनीहरुलाई थप उपचारको लागि सिफारिस गरिएको छ ।

त्यस्तै सो शिविरमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रि.वि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेल, सीटिभीएस डिपार्टमेन्ट हेड बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा.अनिल भट्टराई, उप प्रा. डा. प्रभात खाकुरेल, उप प्रा.डा. सूर्य देवकोटा, डा. युना श्रेष्ठ, डा. मदन ज्ञवाली, डा. सुदिप पराजुली तथा मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. प्रतिकमणि गजुरेलको उपस्थिति रहको थियो ।

प्रा.डा.अनिल भट्टराईले १७ जना जटिल मुटुरोगको समस्या देखिएको हुँदा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए । जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गरेका थिए ।

प्रमूख प्रशासकीय खगराज गौतमले गाउँपालिकाको बासिन्दाहरुलाई लक्षित गरि यो शिविर आयोजना गरिएको भएता पनि अन्य जिल्ला समेतका बासिन्दाले सेवा पाएकोमा यो शिविर अत्यन्त फलदायी रहेको बताए । गाउँपालिकाका अध्यक्ष आचार्यले शिविर भव्यताको साथ् सम्पन्न गर्न सहयोग गर्ने मुटु जोगाउँ संस्था, त्रि.वि.शिक्षण अस्पताल, मणिपाल अस्पताल पोखरा, नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर तथा सम्पूर्ण टिम तथा औषधी उपलब्ध गराउने सम्पूर्ण औषधी कम्पनिहरुलाई समेत बिशेष धन्यबाद सहित मायाको चिनो प्रदान गरेका थिए ।













