बीमाबारे जनतालाई सही सूचना दिऔं, चुनौति समाधान गर्दै अघि बढौं

कृष्णहरि बास्कोटा
२४ श्रावण २०७८, आईतवार १३:५१

नेपाल अल्पविकसित मुलुक हो । जसको कारण यस मुलुकमा आर्थिक क्रियाकलापका आवश्यक पूर्वाधार निर्माण भैसकेका छैनन् । नेपालमा लिच्छवी शासनकालमा मानांक मुद्रा तयार भएको इतिहासमा पुष्टि भएको छ । यस अतिरिक्त, तिब्बतमा सिक्काको प्रचलन पूर्व नै नेपालमा उसले ब्यापकताका पाएका कारण तिव्वतीहरुले नेपाली मुद्रा प्रयोगमा ल्याएको र सो वापत नेपाल सरकारलाई वर्षेनी रोयल्टी बुझाउने गरेको पनि पाईन्छ । यस अर्थमा नेपालमा आर्थिक क्रियाकलापले विकासको स्वरुप धेरै पहिल्यै ग्रहण गरेको बुझिन्छ । तर, पछिल्लो चरणमा दरवारिया राजनीति, षड्यन्त्र लगायतका कारण आधुनिक अर्थतन्त्र निर्माणमा भने नेपाल पछाडि परेको बुझिन्छ ।

माथि बर्णित इतिहासका अवान्छित कार्यका कारण नेपालमा बैकिङ र बीमा क्षेत्रको विकास निकै पछाडि पर्न गयो । तर, हालको समयमा बैकिङ र बीमा क्षेत्रले निकै राम्रो गति लिएको अबस्था छ । तथापि बीमा क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । जसका प्रमुख पक्षहरुको यस आलेखमा चर्चा गर्ने जमर्को गरिएको छ ।

इन्स्योरेन्स पोलिसी, स्किम र प्रडक्टस्को जानकारी
नेपालमा बीमा बारे जानकारी राख्ने नागरिकको संख्या निकै कम भएको महशुस गरिन्छ । यस अबस्थामा जीबन बीमा कम्पनीहरुले आफ्ना इन्स्योरेन्स पोलिसी, स्किम र प्रडक्टस्का बारेमा आम नेपाली जनतालाई व्यापक रुपमा सही र सत्य सूचना प्रवाह गर्नुपर्छ । जसका लागि स्कूलको पाठ्यक्रममा यी विषयलाई समेट्ने, तालीममा राख्ने र आम संचार माध्यमको उपयोग गर्नुपर्छ।

प्रत्येक बीमालेख (पोलिसी) ले समेटिएका र नसमेटिएका जोखिमहरु आम ग्राहक, उपभोक्ता, सेवाग्राही जनताहरुलाई जस्ताको तस्तै ढंगले जानकारी दिनुपर्छ । यसबाट बीमाप्रतिको विश्वसनियता अभिबृद्धिमा मद्दत पुग्नेछ । बीमा गर्दा एउटा कुरा भन्ने र दाबी गर्न जाँदा अर्कै कुरा गर्ने कुरा कदापि क्षम्य हुन सत्तैन । यसमा हाम्रो समाज आर्थिक क्रियाकलापमा अपेक्षित रुपमा सक्षम भै नसकेकाले समय समयमा भ्रम पैदा हुने गरेको छ ।

यथार्थमा प्रत्येक जीवन बीमा कम्पनीले बीमालेख अन्तर्गत तोकिएको बीमाङ्क रकम, बीमा शुल्क र बीमा अबधिबारे ग्राहकहरुले शत प्रतिशत नै बुझ्ने गरी व्याख्या गर्नुपर्छ । यसमा बीमा गर्नुपूर्व ग्राहकलाई पूरै पढेर सुनाउने प्रणालीको विकास गर्न सकिन्छ ।

जीवन बीमा कम्पनीले औषत व्यवस्थापन खर्च, अभिकर्ताहरुको कमिशन र प्रोत्साहन बापत प्रत्येक बर्ष गरिएको कूल भुक्तानी रकम, समर्पण मूल्य (सरेन्डर) को प्रबृत्ति बारे आम उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्छ । यसबाट बीमा कम्पनीले मात्रै नाफा आर्जन गर्छन, तर ग्राहकहरु बीमाबाट लाभान्वित हुन सक्दैनन् भन्ने भ्रम हटाउन मद्दत पुग्दछ ।

बीमा कम्पनीको रकम जनताको बचत रकम हो

बैंक र बीमा क्षेत्रमा निजी क्षेत्रकै बर्चश्व छ । यस क्षेत्रमा सरकारी कम्पनी नगण्य संख्यामा छन् । जसको कारण आमजनतामा निजी क्षत्रका बैंक तथा बीमा कम्पनी भनेका कुनै साहू महाजनको निजी सम्पत्ति जस्तो लाग्ने गरेको छ । यथार्थमा, यस क्षेत्रमा निजी क्षेत्रको लगानी रहन्छ, तर नियामक निकायका कारण ती निजी सम्पत्ति सरह तजबिजमा संचालन हुदैनन् ।

बीमा कम्पनीका सम्बन्धमा केही मानिसहरुको बुझाई यी निजी व्यवसाय हुन् भन्ने पनि हुन सक्छ । यर्थाथमा आम बीमा कम्पनीको व्यवसायिक रकम भनेको ग्राहकरुपी जनताले बुझाएको रकम हो । यो केबल निजी क्षेत्रले व्यवस्थापन गरेको सार्वजनिक कम्पनी हो भनी बुझ्नुपर्छ । यो बुझाई नै सत्य हो । तर, नत हामी लगानीकर्ताहरुलाई प्रष्टताका साथ बुझाउन खौज्दछौँ, नत जनता नै सत्यको खाजी गर्दन । जसको कारण पनि बीमा क्षेत्र पछाडि पर्न बाध्य छ ।

यसर्थ, सबै जीवन बीमा कम्पनीहरुले पोलिसी म्याचुरिटीबाट ग्राहकलाई गरिएको कूल भुक्तानी रकम, दुर्घटना मृत्युपछि भएको भुक्तानी रकम र समर्पणको रकम बारे पूर्ण जानकारी दिनुपर्छ । प्रत्येक बर्ष हुने कम्पनीको बार्षिक साधारण सभामा यी विवरण समेटिएको पुस्तिका वितरण गर्नुपर्छ । साथै यस्तो विवरण वेवसाईटमा समेत राख्नुपर्छ ।

जीवन बीमा कोषबारे जानकारी
प्रत्येक जीवन बीमा कम्पनीको जीवन बीमा कोष (लाईफ फण्ड) को अबस्था के छ ? सोको लगानी र सुरक्षाको प्रत्याभूति के हो ? यी सूचना ग्राहकलाई प्रवाह गर्नुपर्छ । यसरी जनता सुसुचित हुदा नै बीमा क्षेत्रको दायरा बिस्तारमा मद्दत पुग्नेछ ।

साथै यस्ता बीमा कम्पनीहरुले अभिकर्ताको कर्तव्य, दायित्व र आचरण बारे ग्राहकलाई सुसुचित गर्नुपर्छ, यसबाट ग्राहक र अभिकर्ताहरुको सुसम्बन्धको विकास र विश्वासको वातावरण निर्माणमा मद्दत पुग्नेछ ।

नेपालमा जीवन बीमा कम्पनीहरु
हाल नेपालमा सरकारी क्षेत्रको १ जीवन बीमा कम्पनी र निजी क्षेत्रको १६ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यसका अतिरिक्त, विदेशी शाखाको १ कम्पनी र संयुक्त लगानीको १ कम्पनी गरी कूल १९ वटा जीवन बीमा कम्पनीले सेवा प्रवाह गरी आएका छन् ।

बि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान स्थापना भै जीवन बीमा सेवा प्रवाह आरम्भ भएको हो । पछिल्लो समयमा २०७५ माघमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी स्थापना भयो । यसरी कूल १९ बीमा कम्पनीले १४६४ शाखा मार्फत पौने तीन करोड नेपालीलाई जीवन बीमाको सेवा प्रवाह गरेको अबस्था छ ।

निर्जीवन बीमा सम्बन्धी सामान्य जानकारी
नेपालमा हाल सरकारी १ वटा बीमा कम्पनी र निजी १६ वटा कम्पनी सञ्चालनमा रहेका छन् । यसका अतिरिक्त, विदेशी शाखाका २ वटा कम्पनी र संयुक्त लगानीको १ गरी कूल २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

निर्जीवन बीमाका क्षेत्रमा बि.स. २००४ सालमा नेपाल इन्स्योरेन्स क. लि. बाट बीमा सेवा आरम्भ भएको छ । सबैभन्दा पछाडि सानिमा जनरल इन्स्योरेन्स क.लि. २०७५ जेठदेखि संचालनमा आएको हो । यी सबै २० वटा कम्पनीका ८४२ वटा शाखाले आम नेपालीलाई सेवा प्रवाह गरी आएका छन् । यसरी हेर्दा बीमाको बिस्तार सन्तोषप्रद देखिन्न । यसलाई अझै व्यापक र फराकिलो बनाउन आवश्यक छ ।

निर्जीवन बीमा कम्पनीहरुले खासगरी मोटर बीमा, अग्नि बीमा लगायतका बीमालेखहरु जारी गर्ने गरेका छन् । यी सबै बीमालेखले के के जोखिम सोट्छ र के के जोखिम समेट्दैन भनी ग्राहकलाई जानकार िदिनुपर्छ । यसबाट निर्जीवन बीमामा सहभागी हुने ग्राहकको संख्या बृद्धि हुनेछ ।

यस यस अतिरिक्त, बीमा शुल्क दर (ट्यारिफ रेट) के हो ? यो कसरी निर्धारण हुन्छ ? कसरी बीमा गर्ने व्यक्ति । संस्था लाभान्वित हुन्छन् भनी व्याख्यात्मक सूचना प्रवाह गर्नुपर्छ । यसका निम्ति साना साना पुस्तिका बिभिन्न भाषामा प्रकाशित गर्नुपर्छ । यस्ता सूचनामूलक सामाग्री बिभिन्न सामाजिक कार्यहरुमा बितरण गर्नुका साथै आम जनतालाई आर्थिक ज्ञान दिने हिसाबले पनि रणनैतिक प्रचार प्रसारमा जानु पर्दछ ।

बीमाको लाभ बारे प्रचार प्रसार

निर्जीवन बीमा कम्पनीहरुको बीमा दाबी फछ्र्यौटको स्थिति के छ ? दाबी संख्या कति छ ? दाबी फछ्र्यौट नहुनुका कारण के हुन् ? भनी जानकारी दिनुपर्छ ।

यसबाट (१) ग्राहकमा विश्वास बढ्छ
(२) स्वविवेकी अधिकारको प्रयोग घट्छ ।
(३) मोलाहिज गर्नु नपर्ने हुन्छ ।
(४) बीमातर्फ आम मानिसको आकर्षण बढ्ने हुन्छ । यसर्थ, निर्जीवन बीमा कम्पनीहरुले यी कुरामा गहन चिन्तन गरी काम गर्न जरुरी छ ।

सूचना प्रवाहमा व्यापकता
प्रत्येक निर्जीवन बीमा कम्पनीले सर्भेयरको काम, कर्तव्य, दायित्व र आचरणबारे ग्राहकलाई जानकारी दिनुपर्छ ।
यसैगरी, कृषि, पशुधन तथा बाली बीमाको प्रभावकारीतमका बिषयमा आफ्ना गतिविधिहरुको सूचना प्रवाह गर्नुपर्छ । वर्तमान युग सूचनाको युग हो । सूचना नै शक्ति हो भन्ने कुरा समय मै आत्मसात् गनुृपर्छ ।

खुल्ला सिमानाः ठूलो समस्या
खुल्ला सिमानाका कारण विशेषगरी भारतीय कम्पनीसँग बीमा गराउने नेपालीको संख्यालाई घटाउँदै शून्यमा पुयाउनु नेपालमा बीमा कम्पनीहरुको अह्म दायित्व हुने देखिन्छ ।

अर्को कुरा, नेपालका व्यापारीहरु पनि बिभिन्न कारणले भारतमै बीमा गर्न बाध्य छन् । यी सबै हर्कतलाई शून्यमा नझारी नेपालमा बीमाको व्यापार फष्टाउन बाधा गर्नु स्वभाविकै हो ।

बीमा अभिकर्ताको भूमिका
बीमा व्यवसायका क्षेत्रमा बीमा अभिकर्ताहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । यी अभिकर्ताहरु कुन कुन बीमा कम्पनीसँग आबद्ध छन् भन्ने सूचना सार्वजनिक हुनुपर्छ । यसबाट आम ग्राहकलाई सहजता पुग्दछ ।

यसैगरी बीमित (ग्राहक) एवम् बीमा कम्पनी प्रतिको अभिकर्ताको जिम्मेवारी के हो ? भनी प्रष्ट हुन सकेमा एकले अर्कालाई जिम्मेवारी पन्छाउने प्रवृत्तिको अन्त्य हुनेछ ।

कुनै बीमा अभिकर्ताले ग्राहक र बीमितको बारेमा सत्य तथ्य सूचना दिए नदिएको, यदी गलत र जालसाजीयुक्त सूचना दिएको पत्ता लगाउने विधि के हो ? यस्ता केसमा के कारबाही हुन्छ ? को को कुन कुन केसमा कारबाही भएका छन् भन्ने जानकारी उपलब्ध भएमा नेपाली जनता ठगिन र ढाँटिन नपाउने भै बीमा प्रतिको विश्वसनियता बढाउन मद्दत पुग्नेछ ।

हाल करिब ६ लाखको संख्यामा बीमा अभिकर्ता दर्ता भएका छन् । यी सबै आफ्नो काममा सक्रिय छैनन् । यसर्थ, को सक्रिय छन् को निष्कृय छन्, जस्ता सूचना पनि आम नागरिकले पाउदा तुलना गर्न सक्ने स्थिति सृजना हुन्छ ।

बीमा सर्भेयरहरुको जानकारी
बीमा व्यवसायको अर्को महत्वपुर्ण पक्ष भनेको बीमा सर्भेयरहरु हुन् । यिनको दर्ता संख्या भने पाँच सयको हाराहारीमा रहेका छ । आम नागरिकले प्रत्येक सर्भेयरलाई कति वटा घटनाको सर्भे गर्ने तोकिएको छ भन्ने जानकारी पाउनु पर्छ ।

यसैगरी कुन कुन निर्जीवन बीमा कम्पनीसँग को को सर्भेयर नियमितरुपमा आबद्ध छन् भन्ने सूचनाले पनि बीमा गर्ने नागरिकले आफुलाई आवश्यक परेका बखत जानकारी लिन सक्ने हुन्छ ।

यसरी सर्भेको जिम्मा पाएका सबै सर्भेयरले समयमै काम सम्पन्न गरेका छन् कि ? तोकिएको समयमा कति दिन थप गरेर काम गरेका छन् । वा, सर्भेको काम नै गर्न सकेका छैनन भन्ने सूचना सार्वजनिक हुनुपर्छ ।

यथार्थमा जिम्मेवारी बोध गर्ने भनेको साना ठूला सबै क्षेत्रका जिम्मेवार व्यक्तिले मनन गर्ने बिषय हो । यदि कुनै सर्भेयरले प्रतिवेदन बुझाउन नसकेका भए त्यसको कारण के होला ? यसैगरी सर्भेयरको निष्पक्षताको प्रश्नमा को कति पानीमा छ ? कुन सर्भेयरले कुन हदमा पक्षसँगको व्यवहार उचित अनुचित ढंगले सम्पादन गरेको छ ? यसको नियमित अनुगमन र विश्लेषण हुनुपर्छ । साथै गलत काम गर्ने उपर बीमा समितिबाट कारबाही भएको विवरण पनि सार्वजनिक गर्नुपर्छ ।

बीमा क्षेत्रको महत्व

बीमा क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो । यसको मूल उद्देश्य प्राकृतिक तथा सामाजिक जोखिम विरुद्ध आर्थिक सुरक्षा प्रदान गर्नु हो । यस क्षेत्रको महत्वबारे आम जनतालाई जानकारी गराई बीमाको सुरक्षा भित्र सबै आर्थिक क्रियाकलाप र जीवन बीमा लगायतका बिषय समेट्ने प्रयास गर्नुपर्छ ।

बीमा क्षेत्रको व्यापक कार्यान्वयनबाट मुलुकको सन्तुलित र दिगो आर्थिक विकास संभव छ । बीमा ऐन, २०४९ अनुसार बीमा कम्पनीहरु सञ्चालन भेरहेका छन् । यो कानूनमा केही परिमार्जन गर्नु परेकाले नयाँ कानूनको विधयेक संसदमा रहेको छ । तथापी बीमा समितिले आफ्नो नियमकारी भूमिका प्रभावकारी ढंगले सम्पादन गनुपर्छ ।

यस समितिले गर्ने सुपरीवेक्षण र अर्धन्यायिक कामको माध्यमद्धारा बीमा कम्पनीमा सुशासन कायम गर्न सकिने हुन्छ । हाल माथिल्लो तामाकोशीमा सरकारी बीमा कम्पनीले लगानी गरेको अपवाद बाहेक र केही बीमा कम्पनीहरुले शेयरमा लगानी गरेको बाहेक सबै बीमा कम्पनीको लगानी बैंकमा मात्रै सिमित छ, यसको दायरा फराकिलो पार्नुपर्छ ।

नेपालमा स्थापित पुनर्बीमा कम्पनीको स्तरोन्नति गर्दै जानुपर्छ । कूल ग्राहस्थ उत्पादनमा बीमा शुल्कको अनुपात बृद्धि गर्न सामूहिक रुपमा प्रयासको जरुरी छ ।

बीमा बिषयको अध्ययन अध्यापन हुने गरी विश्वविधालयमा छुटै विभाग खडा गर्ने वा तालिम र उच्च शिक्षा दुवै सञ्चालन गर्ने गरी एउटा छुटै बीमा प्रतिष्ठान खुल्न जरुरी छ ।

सरकारको वित्तिय नीति र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा निश्चित काममा लागि बीमा अनिवार्य हुनुपर्ने प्रावधान नराखी यो क्षेत्रलाई अपेक्षित रुपमा अगाडि बढाउन सकिदैन । स्कूल, कलेजको पाठ्यक्रममा सामान्य जानकारीका लागि भए पनि यो बिषय समावेश गर्नुपर्छ ।

तत्काल हस्तक्षेप थर्नुपर्ने क्षेत्रहरु

पहिलो कुरा, बीमा समितिका पूर्व निर्देशनहरुको पुनराबलोकन गर्न नितान्त जरुरी छ । ती एक अर्कासंग बँझिएका छन् । ऐनको भावना विपरित भएको मशहुस गरिएको छ । यसका लागि सर्व प्रथम,यसपूर्व जारी भएका निर्देशनहरुको संग्रह तयार गर्नुपर्छ ।

दोस्रो कुरा, बीमा कम्पनीहरुको साधारणसभा समयमा भैरहेका छैनन् । यसको कारण पहिचान गरी समस्या समाधानतर्फ समितिले ध्यान दिनुपर्छ ।

तेस्रो कुरा, समितिबाट जारी भएको सुशासन सम्बन्धि निर्देशिकामा परिमार्जन गर्नुपर्छ । सो निर्देशिकामा सानातिना कुरा पनि परेका छन् (उदाहरणका लागि भारत भैमणसमेतको अनुमति लिनुपर्छ) ।

चौथो कुरा, केही बीमा कम्पनीबाट बजार बिस्तारको नाममा जथाभावी स्कीम जारी भएका छन् (अनौपचारीक रुपमा आफन्तलाई स्कीम नबेच्न भ निएको छ) । यी कुरामा समिति कठोर हुनुपर्छ ।

पाँचौ कुरा, अभिकर्ताहर ठेकेदारी प्रथामा चलेको अनुभूति भएको छ । १८ प्रतिशतको कमिशनको स्थानमा ३५ प्रतिशत चलेको बुझिन्छ । यस्तो दुष्चक्रको प्रभाव ग्राहकमा गरेको छ । यसबाट अभिकर्ता मोटाउने र बीमित मर्कामा पर्ने हुन्छ । यसका लागि समितिले उचित कदम चाल्नै पर्छ ।

छैठौँ कुरा, दुई बर्ष नपुगी कर्जा नदिने भनिएको पनि पोलिसीमा बैकले ऋण दिन थालेका छन् । यसर्थ, नेपाल राष्ट्र बैंकसँग समन्वय गर्नुपर्छ । यसमा समितिको वर्तमान नेतृत्वबाट समयमै नियन्त्रण गरिएको छ ।

सातौ कुरा, बीमा कम्पनीहरुको खर्च नियन्त्रण गर्नुपर्छ । अन्यथा, बीमित ठगिने र मध्यथकर्ता मोटाउने हुन्छ । यसो भनेर सबै प्रकारको पूँजीगत खर्च नियन्त्रण मै समिति अग्रसर हुनु पनि उचित नहुन सक्छ ।

आठौ कुरा, बीमालेखमा एकरुपता छैन् । दुई कम्पनीले एउटा क्षेत्रमा तोकेको सीमा कतै ५० लाख त कतै १० लाख छ । यसमा समितिबाट एकरुपता कायम गर्नुपर्छ ।

नवौ कुरा, एकमुष्ठ प्रिमियम तिरेर बीमा गर्ने प्रचलन पनि चलेको सुनिएको छ । बीमा भनेको थोरै थारै प्रिमियम तिरेर भविष्य सुरक्षित बनाउने हो । उसर्थ, बीमाको सिद्धान्त विपरितका कार्यमा नियामक निकामक निकायले नियन्त्रण गर्नुपर्छ ।

दशौ कुरा, यसरी बीमा क्षेत्रको प्रबद्र्धनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बीमा समितिबाट समान प्रयास हुनुपर्छ । साथै बीमा कम्पनीहरु पनि निरन्तर सुधारको लागि प्रतिबद्ध हुनुपर्छ । यस सन्र्दभमा, आम नेपालीले जनताले पनि स्वदेशी बीमा कम्पनी पव्रति विश्वास गरी बीमा गर्ने काममा अग्रसर हुनु समयको माग हो ।

आजको सन्दर्भ र निष्कर्ष
बीमा क्षेत्रको उच्च महत्वलाई सबैले गहन रुपमा लिनुपर्छ । यसका लागि तत्काल बीमा समितिका अध्यक्षसहित सम्पूर्ण कर्मचारीको उपस्थितिमा रिट्रिट कार्यक्रमको आयोजना गरी कम्तिमा चालू आ.ब मा गर्ने कामको सूची तयार गर्न सकिन्छ । यस्तो तत्कालीन कार्य योजनाले समितिलाई गति दिनेछ ।

यसैगरी, तत्काल बीमा समितिका पूर्व अध्यक्ष र पूर्व प्रशासकहरुको भेला आयोजना गर्नुपर्छ । यसबाट उंहाँहरुको स्वतन्त्र विचार तथा तोकिएका विषयमा उहाहरुको धारण बुझेर अब गर्नुपर्ने काम तय गर्न समितिलाई सहजता पुग्नेछ ।
अर्को कुरा, सबै ४० वटै बीमा कम्पनीका अध्यक्ष र कार्यकारी प्रमुखहरुको भेला गराएर बिचार बुझ्नुपर्छ । यसबाट समितिले निश्चित विषयमा निर्देशन दिई तत्काल सुधारको अनुभूति दिmाउन सकिनेछ ।

यस अतिरिक्त बीमा समितिमा ४ बर्षका लागि नियुक्त अध्यक्षले आफ्नो ४ बर्षे कार्यकालको कार्ययोजना तयार गरी लागू गर्नुपर्छ । यसले समितिको तत्कालीन, अलपकालीन, मध्यकालीन र दीर्घकालीन सोच अगाडि बढ्न मद्दत पुग्नेछ ।

यसरी बीमा क्षेत्रको दीर्घकालीन सोच निर्माण गरौं । स्वयं बीमा समितिको अबधिक योजना तर्जुमा गरौं । विश्वका सफल बीमाका कथाहरु, असल अभ्यासको संकलन गरौं । बीमा क्षेत्रलाई प्रत्यक्ष रुपमा बुझेका समाजका लव्धप्रतिष्ठित व्यत्तिहरु, बीमा बिज्ञसँग निरन्तर राय सुझाव लिऔं । हाल मुलुकमा सञ्चालित ४० वटा बीमा कम्पनीहरुलाई निश्चित सूचकांकका आधारमा अंक दिएर वर्षेनी वरियाताक्रममा राख्ने प्रयास गरौं ।

अन्त्यमा, बीमा समितिले गर्नुपर्ने नियमनका प्रत्येक क्षेत्रको निर्देशिका तयार गरी काम गर्दा व्यबस्थित हुनेछ । सबैलाई समेट्ने गरी बीमा क्षेत्रको छुटा छुटै आचारसंहिता बनाई लागू गर्नुपर्छ । बीमा क्षेत्रमा तालिम केन्द्र खडा भएको छ । यसको व्यापक उपयोग हुनुपर्छ । साथै, बीमा पुस्तकालय र बीमा स्रोत केन्द्र खडा गर्नुपर्छ । बीमा क्षेत्रमा इन्टनेटको शुरुवात गर्नुपर्छ । यी र यस्तै रचनात्मक कार्य गर्न बीमा समितिलाई सफलता हासिल होस् भनी शुभकामना व्यक्त गर्दछु ।

(बाँस्कोटा राष्ट्रिय आयोगका निवर्तमान प्रमुख आयुक्त तथा नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।) (प्रस्तुत लेख बीमा समितिको ५३ औं बार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषांकबाट लिइएको हो ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*