बीमा अभिकर्ता, वकिल, पत्रकार र डाक्टर, खेलाडीको बक्यौता कर मिनाहा दिने घोषणा, भ्याट र आयकर दुवै छुट पाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि जारी भएको अध्यादेश बजेटमाथि संशोधन पेश गर्दै बीमा अभिकर्तालगायतका पेशागत कार्यमा संलग्न व्यक्तिहरुको बक्यौता कर मिनाहा दिने प्रस्ताव गरेका छन् ।
आज संसदमा प्रस्तुत भएको संशोधन बजेट अनुसार बीमा अभिकर्तासँगै चिकित्सक, पत्रकार, वकील, इन्जिनियर, खेलाडी तथा अन्य पेशामा मध्यस्थकर्ताले आव २०७५।०७६ देखि हालसम्मको आय व्यय विवरण २०७८ फागुन मसान्तभित्रमा बुझाएमा सो भन्दा पहिलेको आयकर तथा भ्याट समेत मिनाहा दिने घोषणा गरेका छन् । बीमा अभिकर्ताहरुको भ्याट नहुने हुँदा यदि कोही कसैको आयकर बक्यौता भएमा उनीहरुले मिनाहा पाउनेछन् ।
नयाँ व्यवस्थासँगै पुराना व्यक्तिहरुले नयाँ प्यान नम्वर लिन समेत सहज भएको छ ।