राष्ट्र बैंकद्वारा चाड पर्वका लागि नयाँ नोट वितरण सुरु, कसरी लिने दशैंमा नयाँ नोट ?

२७ भाद्र २०७८, आईतवार १३:२५

काठमाडौं । दशैं भन्ने वित्तिकै आम मानिसको मष्तिस्कमा टीका जमरा लगाउने र नयाँ नोट दक्षिणा लिने भन्ने कुरा आउँछ । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंभन्दा अगाडि नै नयाँ नोट वितरण गर्ने गर्दछ ।

यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुमार्फत नयाँ नोट वितरण गर्ने भन्दै बाणिज्य बैंकहरुलाई नोट वितरण सुरु गरिएको नेपाल राष्ट्र बैंकका प्रबक्ता देव कुमार ढकालले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले कोरोना महामारीको समयलाई मध्यनजर गर्दै भिडभाड नहोस् भनेर बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको हो । बैंक तथा वित्तीय संस्थाहरुले उक्त नयाँ नोट घटस्थापनादेखि सर्वसाधारणलाई औपचारिक रुपमा वितरण गर्ने जनाइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ५ देखि १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको जनाएको छ । प्रबक्ता ढकालले भने, ‘अहिले बैंक तथा फाइनान्सहरुले चाहिए जति नयाँ नोट दिएका छौं ।’

बैंक तथा वित्तीय संस्थामा चेक लिएर आउने ग्राहकहरुलाई १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न पाउने गरी नोट वितरण गर्न भनिएको छ । यसअघिका वर्षमा राष्ट्र बैंकले नौरथा लागेपछि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउने गर्दथ्यो । यसपाली भने कोरोना महामारीलाई मध्यनजर गर्दै भिडभाड नहोस् भन्ने हेतुले बैंकले चाँडै नयाँ नोट उपलब्ध गराएको हो ।

यस वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई नोट वितरण गर्ने नगर्ने सम्बन्धमा औपचारिक निर्णय हुन बाँकी रहेको बताए । केन्द्रीय बैंकले अवस्था सहज भएको अवस्थामा नोट वितरण गर्न सक्ने भएपनि कोरोनाको महामारी बढेको अवस्थामा पनि सर्वसाधारणले नोट पाउने गरी बैंकमार्फत नोट वितरण गरिएको हो ।

नोट लिन चाहने ग्राहकहरुले अगाडि नै बैंकमा खाता खोलेर रकम जम्मा गरी चेक काट्नु पर्नेछ । यस वर्ष नयाँ नोट वितरण सम्बन्धी केन्द्रीय बैंकले थप निर्णय गरी व्यवस्थित गर्ने जनाएको छ । यद्यपि समयमै नजिकको बैंकमा सम्पर्क गरी नयाँ नोट बुक गर्न तथा अवस्थाबारे बुझ्दा दशैंमा नयाँ नोट पाइने सम्भावना रहन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*