भारतसँग युद्ध लड्न तयार छौंः विप्लव

२८ भाद्र २०७८, सोमबार २२:२८

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (बिप्ल) ले आफ्नो पार्टी साम्राज्यवादी दलाल बनेर नेपाली जनताको हत्यामा संलग्न भारतसँग लड्न आफू तयार रहेका बताएका छन् ।

नेपालमा अमेरिकी हस्तक्षेपका विरुद्धमा आज राजधानीको खुलामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव बिप्लवले भने, ‘एमसीसी मात्रै होइन, हाम्रा जय सिंह धामीलाई जीउँदै महाकाली नदिमा बगाउने साम्राज्यवादी (भारत र अमेरिका), कूतत्वहरु, अतिक्रमणकारीहरुका विरुद्धमा युद्ध लड्न हामी तयार छौं ।’ महासचिव बिप्लवले नेपाली जनताको टाउकोमा विदेशी सेनाको हेलिकोप्टरले नाङ्गो नाच देखाउँदा पनि राज्यसत्ता रमिता हेरेर बसेको आरोप लगाएका छन् ।

‘दार्चुमामा सैन्य ब्यारेकमाथि भारतीय हेलिकोप्टर टाउको टाउकोमा उडाइयो, सेनाको ब्यारेकमाथि भारतीय हेलिकोप्टर उड्दा के हेरेर बसेको ? रक्षा मन्त्रालय कहाँ छ ? महासचिव बिप्लवले भने, ‘एक दिन होइन, दुई दिन होइन, दिनहुँ जनताको टाउकोमा विदेशीले हेलिकोप्टर नचाउँदा पनि हेरेर बस्नेहरु कस्ता हुन् ? अबका दिनमा जनताले ढुंगाले भएपनि हानेर धपाउनुपर्छ ।’

महासचिव बिप्लवले नेपाली भूमि कालापानी, लिपुलेकमा आफ्नो देशको सीमा रक्षा गर्न हिडेको टोलीलाई आफ्नै देशका सुरक्षाकर्मीले झोलामा पेस्तोल राखिदिएर राज्यद्रोहको मुद्दा लगाइएको स्मरण गर्दै क्रान्तिकारीहरुलार्ई नआत्तिन आग्रह गरेका छन् ।

नेपालमा एमसीसी सम्झौता जबर्जस्ती लादिएको भन्दै विप्लवले यो देश र जनताको हितविरुद्ध रहेकाले तत्काल खारेज गर्नुपर्ने बताए । उनले जुनसुकै मूल्य चुकाएर पनि एमसीसी खारेज नभएसम्म यसका विरुद्ध आन्दोलन अघि बढाउने प्रतिबद्धता जनाएका छन् । महासचिव बिप्लवले भने, ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ । एमसीसी जनताका विरुद्ध छ । नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानस्तिान र सिरिया बनाउने भएकोले जनताले अस्वीकार गरेको बताए ।

जनताको तागत र क्रान्तिकारी आन्दोलनले यहाँका दलालहरूलाई परास्त पार्ने उद्घोष गर्दै महासचिव विप्लवले आफ्नो पार्टी जनताको शक्तिमा विश्वास गर्ने प्रस्ट पारे । उनले बन्दुकभन्दा जनता र पत्रकारको क्यामेरा बलियो हुने धारणा पनि राखे ।
उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यसलाई नेपाली जनताको बलले परास्त गर्नुपर्ने बताए । ‘अमेरिकी साम्राज्यवादले २१ औँ शताब्दीका नेपाली जनतालाई झुक्याउने कोसिस गर्ने दुस्साहस नगरे हुन्छ’, प्रकाण्डले भने । विदेशीहरूको पाउमा परेर आफ्नो सत्ता र कुर्सीस्वार्थका लागि नेपाली दलाल शासकहरूले देशको स्वाधीनताविरोधी काम गरे उनीहरूलाई नेपाली जनताको आन्दोलनको आँधीबेहरीले खरानी बनाउने उनले बताए ।

झण्डै सात वर्षपछि खुलामञ्चमा पहिलो राजनीतिक कार्यक्रम गर्दै आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले एमसीसी पारित गर्नुपर्छ भन्नेहरू र यो सम्झौता गर्नेहरू घुच्चुकमा आँखा भएकाहरू भएको बताए । अमेरिकाले नेपालमा एमसीसीमार्फत आफ्नो सैन्य परियोजना लागू गर्न खोजेको भन्दै यो राष्ट्रघाती भएको बताए ।

सो सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले यो देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी पार्टीहरूबीच एकता हुनुपर्ने बताए । उनले अमेरिका नेपालको विकास, उन्नति र प्रगतिका लागि नभएर देशको प्राकृतिक स्रोतसाधन लुट्ने उद्देश्यले एमसीसीमार्फत नेपालमा ब्रह्मलुट मच्चाउन आएको बताए ।

सो विरोध सभामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमसीसी परियोजना देश र जनताको हितमा नभएको बताए । अमेरिकी र नेपाली शासकहरूले यसलाई विशुद्ध विकासको नारा दिए पनि यो आईपीएस परियोजनाअन्तर्गतको अमेरिकी सैन्य रणनीति भएको पनि उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*