बीमा समितिको आत्मघाती निर्णयका विरुद्धमा एकजुट बनौं

१० मंसिर २०७८, शुक्रबार १०:३३

सम्पादकीय

बीमा समितिले यही मंसिर ९ गते जारी गरेको बीमकले पुनर्बीमा गर्ने सम्बन्धी निर्देशनले सिंगो बीमा जगत स्तब्ध बन्न पुगेको छ । बीमा समितिले बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यताभन्दा विपरित हुने गरी कुनै पक्ष वा समुहको पृष्ठपोषण गर्ने गरी नियोजित रुपमा जारी पुनर्बीमा सम्बन्धी निर्देशन नेपाली बीमा जगतका लागि कालो दिनको रुपमा सदैव रहिरहनेछ । २०७५ साल बैशाख ७ बीमा समिति जारी गरेको कोरोना बीमाको कारण सिंगो बीमा जगत प्रभावित छ । बीमाको सामान्य सिद्धान्त, मूल्य र मान्यता विपरित हुने गरी जारी गरिएको कोरोना बीमाको कारण सिर्जना भएको ११ अर्ब रुपैयाँ दायित्व कसले व्यहोर्ने भन्ने अन्योलता कारण एक लाख भन्दा बढि बीमितहरुले एक वर्षभन्दा बढि समयदेखि दावी भुक्तानी नपाएको अवस्था छ ।

बीमाको सिद्धान्त जोखिम बाँडफाँड हो । बीमक कम्पनीले बीमा शुल्क लिई स्वीकार गरेको जोखिम विश्वका ठूला बीमा कम्पनीहरुसम्म बाँडफाँड गरिएको हुन्छ । प्राकृतिक प्रकोप तथा अन्य कारणबाट सिर्जित दायित्व विश्वका सबै कम्पनीहरुमा भार पर्दछ । बीमाको सिद्धान्त अनुसार जोखिम विविधिकरण गर्नपर्दछ । भौगोलिक रुपमा एकै ठाउँ, एउटै समुहको लगानी भएको पुनर्बीमा कम्पनीमा पुनर्बीमा झनै गर्नु हुँदैन । यसले प्राकृतिक विपत्ति वा ठूलो विपत्ति आउँदा सिंगो बीमा व्यवसाय मात्रै धरासायी हुँदैन, बीमितले दावी भुक्तानी नै नपाउने अवस्था आउनसक्ने जोखिम हुन्छ । त्यसैले बीमा कम्पनीहरुले बीमितसँग उठाएको रकम विश्वका सबै पुनर्बीमा कम्पनीहरुमा मिलाएर बाँडफाँड गरिएको हुन्छ । झन् एउटै पुनर्बीमा कम्पनीमा शतप्रतिशत पुनर्बीमा गर्नु त आत्मघाती सरह नै हुन जान्छ । २०७२ साल बैशाख १२ गएको विनाशकारी भुकम्पको दावी भुक्तानी, विश्वका ठूला पुनर्बीमा कम्पनी स्वीस री, म्युनिख री लगायतका विश्वका १० भन्दा पनि बढि पुनर्बीमा कम्पनीहरुले जोखिम व्यहोरेका थिए । बीमा भनेकै जोखिम बाँडफाँड भएकोले नेपालका बीमक कम्पनीलाई नेपालमा मात्रै पुनर्बीमा गर भनेर भन्नु बीमाको सिद्धान्तभन्दा विपरित, मूल्य मान्यता र चारित्रिक रुपमा अनैक समेत हुन जान्छ ।

बीमा समिति नियामक निकाय हो । नियामक निकायले गरेको गैर कानुनी, अनैतिक र सिंगो बीमा व्यवसाय ध्वस्त पार्ने निर्णय सबैले मान्नु पर्छ भन्ने हुँदैन । यतिबेला सर्वोच्च अदालतका प्रधान न्यायाधिशका विरुद्धमा समेत आन्दोलन, धर्ना र संघर्ष जारी छ । त्यसैले कुनै व्यक्ति सा समुह विशेषको फाइदाका लागि ल्याइएको बीमकको पुनर्बीमा सम्बन्धी निर्देशनका विरुद्धमा सबै बीमा कम्पनीहरु एकजुट भई प्रतिवाद गर्नुको विकल्प छैन । नियामक निकायले नियम, सिद्धान्त, पद्धतिभित्र रहेर बीमा क्षेत्रको दीगो विकास, समृद्धि, संस्थागत समृद्धिमा लाग्नुपर्नेमा कुनै व्यक्ति विशेषका फाइदाका लागि गरिने कार्यका विरुद्धमा चुप लागेर बस्नु सिंगो बीमा क्षेत्रकै लागि घातक हुनेछ ।

सबै बीमा कम्पनीका सिईओ, अध्यक्ष तथा कर्मचारी संगठनहरुले बीमा समितिको निर्णयका विरुद्धमा प्रतिवादमा उत्रनु जरुरी छ । र, निर्णय सच्याउन आग्रह गर्नुपर्दछ । नमानेमा माफिया, दलालहरुको पृष्ठपोषण गर्ने बीमा समितिका नेतृत्वका विरुद्धमा सम्झौताहिन संघर्षमा उत्रन ढिलाई गर्नुहुदैन । यसले कुनै कम्पनी विशेषलाई फाइदा गर्दैन, बरु सबै जना सवार बीमाको सिंगो डुंगालाई डुबाउनेछ, सबैलाई चेतना भया ।

3 thoughts on “बीमा समितिको आत्मघाती निर्णयका विरुद्धमा एकजुट बनौं

  1. गेहेन्द्र प्रसाद पौडेल says:

    बिमा समितिको निर्णय ठिक हो जसले नेपाली पुँजी बाहिरिन बाट रोक्छ।

    1. कृष्ण भट्टराई says:

      बिल्कुल बिना अध्ययन र आफ्नाे दुनाे साेझाउने गरि कुनै एक समूहले ब्रम्हलुट गर्ने नियाेजित निर्णय देखिन्छ।

  2. देव प्रसाद जैसी says:

    हिमालयन पुनर्विमा कम्पनिकाे अगमन नै याे निर्णयकाे न्यूक्लियस हाे भन्ने लाग्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*