देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट

३० पुष २०७८, शुक्रबार ०७:४४

समाचार विश्लेषण

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य सार्वजनिक भएको छ ।

राष्ट्र बैंकले चालु खाता ३०० अर्ब घाटामा, मुद्रास्फीति ७.११ पुगेको तथ्याङ्क सार्वजनिक भएकै दिन उता नेप्सेमा भने उछाल आउँदै ५४ अंकको बृद्धि हुनुले नेपालको पुँजि बजारबारे अनेकन प्रश्नहरु उब्जिएका छन् ।

कतै शेयर बजार पूर्ण रुपमा माफियाको हातमा पुगेको त होईन सोझा र मध्यमबर्गीय लगानीकर्ताहरु अन्योलमा छन् । हो, बृद्धि हुनुपर्दछ । समृद्धि जनताको अधिकार हो । तर, माफियाको शेयर बिक्री गर्न अर्थतन्त्रलाई बेलुन जसरी फुलाएर उनीहरुको शेयर बिक्री गरी भ्याईसक्ने अनि सोझा लगानीकर्ता आत्महत्या गर्नुपर्ने अवस्था आउने अवस्थाको इक्जेटेड हो भने यो सही होईन् । प्राकृतिक रुपमा लगानीकर्ताहरुले नेपालको शेयर बजारमा भविष्य देखेर पुँजि बजारमा वास्तविक रुपमा नै लगानी गरेर नेप्सेमा उछाल आएको भए यो बृद्धिले नेपालको अर्थतन्त्रमा पक्कै पनि योगदान गर्नेछ ।

शेयर बजारको मूल्य घटबढ निष्पक्ष हुनुपर्नेमा देशको आर्थिक अवस्थाको निरपेक्ष रुपमा शेयर मूल्य तीव्र गतिमा बढ्नुलाई कुनै पनि अर्थमा राम्रो मान्न सकिदैन । तर, शेयर बजार देशको अर्थतन्त्रसँग चासो राख्दैन । बरु भविष्यमा शेयर बजारमा उछाल आउँछ भन्ने आशा लगानीकर्तामा पलायो भने जस्तोसुकै अवस्थामा पनि शेयर बजारमा उछाल आउन सक्छ । सामान्य अर्थमा शेयर बजार होप अर्थात आशाको भरमा गरिने लगानी हो । तर, असारमा धान रोपेको जस्तो होइन, मंसिरमा फल पाउने ग्यारेन्टी गर्ने । शेयर बजारमा आशा पलायो भने सबैले लगानी गर्छन र ह्वात्तै माथि जान्छ, विश्वास गुम्यो भने शेयर बजारमा बेलुन फुटे जसरी फुट्न पनि सक्छ । तर, कति जोखिम मोल्ने हो त्यही आधारमा प्रतिफल पाइने हुन्छ । त्यसो भन्दैमा जोखिमका लागि प्रोत्साहन गरिएको होइन । यस्तै अवस्थामा जोखिम मोलेका कारण विश्वमा र नेपालमा हजारौं मानिसहरु विगतमा सडकमा पुगेका र कैयौंले आत्महत्या समेत गरिसकेको अवस्था छ । त्यसैले शेयर बजारलाई केही मानिसहरुले जुवाको संज्ञा समेत दिने गरेका छन् ।
अहिले शेयर बजारको मूल्यबृद्धिले देशको अर्थतन्त्रसँग पुँजि बजार निरपेक्ष हुँदै अघि बढेको देखिएको छ । त्यसले शेयर बजारमा कालोधन लगानी भएको त होइन भन्ने अर्को प्रश्न चिन्ह पनि खडा गरेको छ । अर्को कुरा राष्ट्र बैंककै तथ्याङ्कमा मुद्रा स्फीति दर ७.११ प्रतिशत छ । गत आर्थिक वर्षमा २.९३ प्रतिशतमा रहेको मुद्रास्फीति निकै बृद्धि भएको तथ्याङ्कले देशको अवस्था भयावह देखाएको छ ।

हेर्दा लाग्छ नेपाली शेयर बजारमा कुपोषण लागेको छ । सामान्य भाषामा कुपोषण भनेको खान नपाउनुलाई भनिन्छ । तर, कुपोषणको अर्थ अधिकसेवनका कारण सुगर प्रेसर हुनुपनी हो भनेर बुझ्न जरुरी छ । अहिलेको नेपालको शेयर बजार त्यही दिशामा अघि बढिरहेको होइन भनेर भन्ने आधार छैन । देशको अर्थतन्त्रको अवस्थासँग शेयर बजार सापेक्षा हुन्छ कि निरपेक्ष ? गम्भिर प्रश्न चिन्ह उठेको छ । यसबारे आगामी दिनमा पक्कै पनि बहस पैरवी हुने नै छ ।

विगत तीन महिनादेखि देशको अवस्था दयनीय हुँदै गएको चित्र बाहिर आइरहेको छ । देशको अर्थतन्त्र डुब्दै जाने शेयर लगानीकर्ताहरुले दिन दिनै शेयर बजार चम्केर रातारात करोडपति, अर्बपति बन्ने दिशातर्फ अघि बढ्दा त्यो कति दिन टिक्न सक्ला भन्ने प्रश्नपनि सँगै उब्जिएको छ ।

शेयर बजारलाई माफियाको हातमा पर्न दिनु कदापी हुँदैन । स्वतन्त्र मूल्य निर्धारणमार्फत अघि बढ्न स्वतन्त्र छोडिदिनु पर्दछ । नियामक निकायले नेपालको शेयर बजारमा माफियाहरुको समुहले बेलुन जसरी फुलाउन रोक्नु पर्दछ । अन्यथा सोझा लगानीकर्ताहरुले शेयर बढ्यो भन्दै लगानी गर्ने र बेलुन फुटेपछि पीडादायी अवस्थाको सामना गर्नुपर्ने अवस्थातर्फ सबै सचेत हुनै पर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*