लुकिछिपी शेयर धितोमा कर्जा दिँदै बैंकहरु, तरलता समस्यामा फसे आधा दर्जन बैंक

१३ माघ २०७८, बिहीबार ०८:४९

काठमाडौं । गत पुस महिनाबाट अधिकांश बैंकहरुले कर्जा प्रवाह बन्द गरे । जसको प्रत्यक्ष असर निर्माण हुँदै गरेका उद्योगहरुको काम रोकियो, बन्दै गरेका घरहरुको काम ठप्प भयो । बैंकले धितो रोक्का राखिसकेको अवस्थामा समेत ऋण प्रवाह गर्न असफल नै बनेका थिए ।

सिंगो बैंकिङ क्षेत्रमा आएको तरलता समस्याको कारण रोकिएको ऋण सोझा सर्वसाधारणले नपाए पनि बैंकहरुले सेटिङमा शेयर धितोमा ऋण रोेकेका थिएनन् । बरु करोडौं रुपैयाँ ऋण प्रवाह गरिरहेका थिए । त्यसरी ऋण प्रवाह गरिरहेकाहरुले अहिले निकै ठूलो तरलताको तनाव झेल्नु परेको खुलेको छ । स्रोतका अनुसार करिब एक दर्जन बैंकहरुले पुस २८ गतेसम्म पनि शेयर धितोमा कर्जा प्रवाह गरिरहेका थिए ।

यसरी कर्जा दिनेमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि रहेको बताइन्छ । सो बैंकले पुस मसान्तसम्ममा करोडौं रुपैयाँ शेयरधितोमा कर्जा प्रवाह गरेको बताइन्छ । स्रोतका अनुसार पहुँच र पावर हुने, सिईओ तथा उच्च व्यवस्थापकसँग सम्पर्क भएकाहरुले अहिले पनि शेयर धितोमा ऋण लिइरहेका छन् । त्यस्तै बैंकको ऋण शाखामा अलि कडा रुपमा प्रस्तुत हुन सक्नेले अहिले पनि बैंकहरुबाट सजिलै कर्जा लिइरहेका छन् । पहुँच नहुनेले भने सुन धितोमा राख्न खोज्दा समेत ऋण नपाउने अवस्था छ ।

अन्य क्षेत्रमा ऋण लगानी गर्न रकम नहुने बैंकहरुले शेयर धितोमा धमाधम ऋण दिइरहेका थिए । जसको कारण शेयर मूल्य उच्च अंकले बृद्धि भएको थियो । ठूलो रकम शेयर धितोमा लगानी गरेका बैंक तथा बैंकरहरुले आफ्नै सुरक्षाको लागि समेत शेयरको मूल्य बृद्धि गर्नुपर्ने आवश्यकताका कारण त्यसरी शेयर धितोमा कर्जा प्रवाह नरोकेको सूत्रहरुको भनाई छ ।

निरन्तर शेयर धितोमा कर्जा प्रवाह गर्दा निक्षेप भन्दा कर्जा प्रवाह बढि हुन पुगेको छ । कृषि विकास बैंक, कुमारी बैंक, बैंक अफ काठमाडु, सनराईज बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकको अवस्थामा कोल्याप्स हुने चरणमा पुग्नुमा लुकीछिपी शेयर धितोमा प्रवाह प्रवाह गर्नु नै मुख्य कारण रहेको बताइन्छ । कृषि विकास बैंकको सिडी रेसियो धेरै उच्च हुनुमा शेयर धितोमा भन्दा पनि दिनैपर्ने सहुलियतपूर्ण ऋणका लागि कर्जा प्रवाह हुँदा निक्ष्ोप भन्दा कर्जा झण्डै २० अर्बले बढि हुन पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*