आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था

१३ माघ २०७८, बिहीबार १४:४९

काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशनको तयारीमा रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मको आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार खुद नाफा गत आवको तुलनामा ५२ प्रतिशतले घटेको हो । गत आवमा संस्थाले ३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीको संचालन मुनाफा पनि बढेको छ । गत आवमा ३४ करोड ११ लाख ऋणात्मक रहेको संस्थाको संचालन मुनाफा यस आवमा २ करोड २६ ला धनात्मक भएको हो । त्यस्तै कम्पनीको गत आवमा ६ करोड १६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ७ प्रतिशतले बृद्धि भएर ६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाको कर्मचारी तलब खर्च २ करोड ६७ लाख रुपैयाँबाट बढेर ४ करोड ३९ लाख पुगेको छ । त्यस्तै, गत आवको तुलनामा यस आवमा संस्थाले राइट ब्याक धेरै गर्न नसक्दा र कर्मचारी खर्च बढ्दा कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

चालु आवको दोस्रौ त्रैमाससम्ममा कम्पनीले ९५ करोड ६९ लाख सापटी लिएर ८९ करोड ८७ लाख निक्षेप संकलन गरी २ अर्ब १३ करोड ११ लाख भन्दा बढी कर्जा लगानी गरेको छ ।

साथै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा १४ करोड ५८ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको खुद सम्पत्ती २ अर्ब २९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आइपीओ निष्काशनको लागि नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृति प्राप्त पाएपश्चात् कम्पनीले सो कित्ता आइपीओ सर्वसाधारणमा निष्काशन गर्नेछ ।

साथै कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*