महिला लघुवित्तको खुद नाफा सवा ८ करोडमाथि, इपिएस कति ?

१६ माघ २०७८, आईतवार १२:३९

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अुनसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले खुद नाफा ५०.५० प्रतिशतले वृद्धि गरि ८ करोड १८ लाख ४२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ह्वात्तै बढेको छ भने संचालन मुनाफा घट्न पुगेको छ । कम्पनीको सो अवधिमा खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले वृद्धि भइ १४ करोड ४९ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत आवमा संस्थाले यस्तो आम्दानी ६ करोड ५२ लाख १७ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।

साथै पुस मसान्तसम्ममा संचालन नाफा ४१.५७ प्रतिशतले घटेर ३ करोड ८१ लाख २ हजार रुपैयाँ पुगेको छ । संचालन मुनाफा घटेपनि लघुवित्तले यस अवधिसम्ममा खुद ब्याज आम्दानीमा उत्कृष्ट प्रगती गरेसँगै कम्पनीको नाफा बृद्धि हुन पुगेको हो ।

त्यस्तै, गत आवमा जगेडा कोषमा १८ करोड २४ लाख ७ हजार रुपैयाँ रहेकोमा समिक्षा अवधिमा कोषको आकार २७.०५ प्रतिशतले बढेर २३ करोड १७ लाख ६० हजार रुपैयाँ संचित गरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा संस्थाको निक्षेपको आकारमा समेत वृद्धि भएको छ । कम्पनीको निक्षेप ४३.५६ प्रतिशतले बढेर १ अर्ब १२ करोड ७४ लाख ९० हजार रुपैयाँ पुगेको हो । त्यस्तै, संस्थाले पुष मसान्तसम्मा २ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ बैंक वित्तीय संस्थाबाट सापटी लिई ३ अर्ब ९१ करोड २ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी (वार्षिक) ११० रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा रहेको छ । तरलता अनुपात ६.७५ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.१६ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*