खुद ब्याज आम्दानी बढेपनि समता घरेलु लघुवित्तको नाफा सामान्य घट्यो, अन्य सूचक कस्तो ?

२० माघ २०७८, बिहीबार ११:३२

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य गिरावट आएको छ ।

गत आवको पुष मसान्तसम्ममा ३ करोड ६४ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यस अवधिसम्ममा २.४३ प्रतिशतले घटेर ३ करोड ५२ लाख २७ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्मा संस्थाको यस्तो आम्दानी ६ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन नाफा पनि गत आावको तुलनामा ४७३.४५ प्रतिशतले बढेर १ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको यस्तो नाफा जम्मा ३४ लाख ४३ हजार रुपैयाँ मात्रै रहेको थियो ।

कम्पनीको यस अवधिमा कर्मचारी खर्च बढेको कारण संचालन मुनाफा र खुद ब्याज आम्दानीमा उत्कृष्ट सुधार आएतापनि नाफामा खासै प्रगति नदेखिएको हो । कर्मचारी खर्च गत आवको तुलनामा यस अवधिमा १३९ प्रतिशतले बढेर ५ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले १ अर्ब ३ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ सापटी लिई ३ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिसम्ममा संस्थाले प्रोजिभनमा खासै उत्कृष्ट राइट ब्याक गर्न नसक्दा नाफामा गिरावट आएको देखिएको हो ।

कम्पनीले समिक्षा अवधिसम्मा चुक्तापूँजी २२ करोड ९३ लाख रुपैयाँबाट बढेर ३४ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संस्थाले जगेडा कोषको आकार बढाएर १४ करोड ४८ लाख रुपैयाँ संचित गरेको छ ।

त्यस्तै, संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी २ं०.७३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.२६ रुपैयाँ, तरलता अनुपात ३.७३ प्रतिशत र मूल्य आम्दानी अनुपात ६०.३९ रुपैयाँ रहेको छ भने खराब कर्जा घटेर २.०९ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*