जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा आज एकैदिन चार लाखको आवेदन, कतिले पाउँछन् शेयर ?

२१ माघ २०७८, शुक्रबार १८:००

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजबाट निष्काशन गरेको आईपिओमा आज एकै दिन हालसम्मकै सर्वाधिक करिब चार लाख जनाको आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपिओमा माग भन्दा करिब १० गुणा बढि आवेदन परेको हो ।

सो आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसो २ः४५ बजेसम्ममा ३ लाख ५५ हजार ५६९ जना आवेदकहरूले ४३ लाख ९८ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । अपरान्ह ५ बजे यो संख्या चार लाख नाघेको कम्पनीले जनाएको छ । यो आवेदनको संख्या सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा १० गुणा बढी हो ।

कम्पनीले माघ २१ गते शुक्रबार अर्थात आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

जाल्पा लघुवित्तको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो आईपिओ यही माघ २५ गते बैंकिङ समयपछि बन्द हुनेछ ।

उक्त आईपिओमा बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरबाट पनि आईपीओ भर्न सकिन्छ । त्यस्तै एनआईसी एसिया बैंकको मोबाइल एपबाट समेत आईपिओ भर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*