विजय लघुवित्तको नाफा ६ प्रतिशतले घट्यो, खुद ब्याज आम्दानी र संचालन नाफामा देखियो सुधार

२३ माघ २०७८, आईतवार ११:१४

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको खुद नाफा घट्न पुगेको छ ।

संस्थाले यस अवधिसम्ममा ६ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ६.१० प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा भने बढ्न पुगेको छ । खुद ब्याज आम्दानी २३.२२ प्रतिशतले बढेर १९ करोड १५ लाख ३४ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा १२.३८ प्रतिशतले बढेर ९ करोड ६१ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
संस्थाको गत आवको यसै अवधिसम्ममा खुद ब्याज आम्दानी १५ करोड ५४ लाख ३५ हजार र संचालन नाफा ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

संस्थाको चालु आवको दोस्रो त्रैमाससम्ममा कर्मचारी खर्च भने २९ प्रतिशतले बृद्धि भई ७ करोड ७९ लाख ६ हजार रुपैयाँ पुगेको छ । जसकारण खर्च बढेसँगै कम्पनीको नाफा घट्न पुगेको हो । त्यस्तै, संस्थाले यस अवधिसम्ममा प्रोभिजन राइट ब्याकमा सुधार ल्याउन नसकेकोमा नाफामा सुधार नआएको हो । गत आवमा २ करोड ६ लाख राइट ब्याक गरेकोमा यस आवको समिक्षा अवधिसम्ममा संस्थाले १ करोड ५६ लाख रुपैयाँ मात्र प्रोभिजन राइट ब्याक गरेको छ । जसको असर नाफामा पुग्न गएको हो ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी २६ करोड रुपैयाँबाट बृद्धि भएर ३२ करोड रुपैयाँ पुगेको छ भने संस्थाले जगेडा कोषको आकार ४९.७१ प्रतिशतले बढाएर १९ करोड २४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । संस्थाको यस अवधिसम्ममा प्रतिशेयर आम्दानी ४२.७५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६०.१३ रुपैयाँ, तरलता अनुपात ४.१% र मूल्य आम्दानी अनुपात ३४.०१ रुपैयाँ रहेको छ ।

त्यस्तै, संस्थाले चालु आवको पुष मसान्तसम्ममा १ अर्ब ३ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १० करोड ५७ लाख रुपैयाँ सापटी लिई ४ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ भन्दा बढी कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*