बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?

१० बैशाख २०७९, शनिबार १२:१८

काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । यही काम बीमाले गर्ने गर्दछ । भोलि जीवनमा वा कुनै आफूले गरेका कामहरुमा आउने क्षतीको लागि पूर्व तयारीको समेत काम गर्दछ ।

न्यूनतम खर्च (बीमाशुल्क) मा आफ्नो सम्पत्ति, आम्दानी, आइपर्ने दायित्व एवं कामदारको यथोचित अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो ।बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमामाशुल्क बुझाई बीमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यही आवश्यकताले नै बीमा क्षेत्रको विकास भएको हो ।

जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ । तर, सबै जोखिमलाई बीमा गर्न सकिन्छ भन्ने होइन । बीमा गर्नका लागि जोखिमका विशेष जोखिमलाई मूल्यांकन गर्नु पनि जरुरी रहेको हुन्छ ।
घटना अनिश्चित हुनुपर्छ ।

जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ ।घटना हुने निश्चित छ भने गर्न मिल्दैन । यदि त्यस्तो भएमा नियतबस रुपमा गरिएको बीमा भन्ने बुझिन्छ ।

जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । तर, जीवन सबमा गर्नेले बीमा गराउँदा तत्कालै आत्महत्याको नियत नराखेको हुनुपर्छ ।

घटना कति खेर र कस्तो अवस्था हुन्छ भनेर पूर्व जानकारी भने कसैलाई पनि हुँदैन । यदि त्यस्तो हुने भएको भए सायद सबैले आफनो भविष्यको परिकल्पना आज नै गरेर त्यहि अनुसार नै जीवनशैली लाने गर्दछ ।

जोखिम अनिश्चित हुनुपर्छ भनिँदा बीमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यताविपरीत हुन्छ । सवारी दुर्घटनाबापत चालकलाई सम्बन्धित प्रहरीले गर्ने जरिवाना रकम बीमा क्षतिपूर्ति हुँदैन । तर, तेस्रो पक्षप्रति दायित्वको भने क्षतिपूर्ति हुन्छ ।

कुनै पनि क्षतिमा मूल्यको निर्धारण हुनु आवश्यक हुन्छ । घर आगलागी हुँदा, सवारी साधन दुर्घटना हुँदा मर्मत खर्च कति लाग्छ ? सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा प्रचलित ऐन नियमको व्यवस्थाले कति रकम दिनुपर्ने भयो ? जीवन बीमन गरिएको अवस्थामा मृतक भएको विमितले इच्छाएको व्यक्तिले पाउने रकम कति छ ? बीमालेखको रकम कति हो र पाउने क्षतिपूर्ति कति हो ? यस्ता सबै प्रकारका क्षतिहरूलाई मूल्यमा किटान गर्न सक्नुपर्छ । निर्जीवन बीमामा घटना घटेपछि मात्र क्षति मूल्य यकिन हुन्छ तर जीवन बीमामा अग्रिम रूपमा नै मूल्य किटान भइरहेको हुन्छ ।

बीमा गर्दा निश्चित बीमनशुल्क बुझाउनु पर्छ । बीमाशुल्कको निर्धारण धेरै कुरामा आधारित हुन्छ । सम्पत्तिमा सुरक्षण गरिने जोखिमको प्रकृति, त्यसमा पर्न सक्ने दायित्वको सीमा, जीवन बीमाको हकमा बीमा गर्नेको उमेर, स्वास्थ्यस्थिति तथा भुक्तानी फिर्ता हुने अवधि आदि विवरणका आधारमा बीमाशुल्क निर्धारण गरिन्छ ।

बीमा कम्पनीहरूलाई बीमाशुल्क निर्धारणको निमित्त उस्तै प्रकारका धेरै जोखिमहरूको प्रस्ताव प्राप्त हुनुपर्छ । हस्तान्तरण हुने जोखिम थोरै छ वा एक दुइटा मात्र छन् भने बीमाशुल्कको निर्धारण बढी हुन्छ।बीमाको माध्यमद्वारा जोखिम हस्तारन्तरण गरिँदा आइपर्न सक्ने क्षति वा दायित्व सिर्जना हुने बीमाको विषय वस्तुमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्तिको आफ्नो बीमायोग्य हित भएको हुनुपर्छ ।

घटना भएमा हित कायम भएको व्यक्ति वा संस्थाले मात्रै क्षतिपूर्ति पाउनुपर्छ । अन्य व्यक्ति वा संस्थाको सम्पत्ति, आइपर्ने दायित्व तथा अरूको जीवनमा बिमा गर्न मिल्दैन (कुनै–कुनै अपवाद अवस्था बाहेक) यसलाई बीमायोग्य हितका सिद्धान्तसम्बन्धी शीर्षकमा छुट्टै व्याख्या गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*