एचआइडिसीएललाई आइपीओकै मूल्यमा पनि शेयर बेच्न हम्यहम्य, भदौ २० देखि अवतरित शेयर पुनः लिलामीमा ल्याउँदै

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले चौथो पटक उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । यसअघि पनि कम्पनीले सो शेयर बेच्नको लागि तीनपटक बोलपत्र पेश गर्न आह्वान गरेकोमा लिलामीमा ल्याएको सबै शेयर बिक्री नभएको कारण कम्पनीले चौथो पटक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले संस्थापक समूहको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नको लागि साउन १५ गतेदेखि साउन २९ गतेसम्म निष्काशन गरेकोमा उक्त समयावधिभित्र प्राप्त बोलपत्रको आधारमा ४६ लाख ४ हजार ९८५ कित्ता शेयर मात्रै बिक्री गरी बाँडफाँड गरिएको थियो ।
सो पश्चात कम्पनीको भदौ ६ गते बसेको संचालक समितिको बैठकले बाँकी रहेको २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता शेयर पुनः गोप्य शिलबन्दी बोलपत्रमार्फत निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसअनुसार आवेदनले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक आवेदकले भदौ २० गतेदेखि असोज ४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं लगायत ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड, हनुमानदास रोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगंज, मेनरोड हेटौंडा, शहिदचोक नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।