एचआइडिसीएलको २ करोड ३२ लाख शेयर लिलामीमा, आइपीओकै मूल्यमा खरिद गर्न पाउने
काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आज भदौ २० गतेबाट संस्थापक समूहतर्फको अवतरित शेयर पुनः लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर पुनः लिलामीमा ल्याएको हो ।
कम्पनीले यसअघि तीन पटकसम्म लिलामीमा बिक्री खुल्ला गर्दा पनि सबै शेयरमा आवेदन नपरेपछि पटकपटक लिलामीमा ल्याएको हो । यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले १०० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
बोलपत्र पेश गर्ने म्याद असोज ४ गतेसम्म तोकिएको छ । न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसर्थ सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिनेछ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।
साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।