खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ ।
लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि ३०५ रुपैयाँ एक पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुन कुनै कम्पनीको शेयर पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तोक्ने गर्दछ ।
खप्तड लघुवित्तको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नटेवर्थ १०१ रुपैयाँ ७ पैसार रहेको छ । सोही नेटवर्थको आधारमा उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।
खप्तड लघुवित्तले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । सोमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आइपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १२ हजार ३४० जनाले मात्र शेयर हात पारेका छन् ।
क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । ति मध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।