साना किसान लघुवित्तद्धारा उत्कृष्ट सात कृषकलाई एक लाखसहित अवार्ड तथा सम्मान प्रदान

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र इजरायल दुतावासको संयुक्त आयोजनामा देशैभरका सातै प्रदेशका कृषकहरुलाई ‘युथ एग्रि अवार्ड–२०२२’ प्रदान गरिएको छ ।
लघुवित्तले इजरायल दुतावासको सहकार्यमा ‘साना किसान कृषि कार्यक्रम’ अन्तर्गत सातै प्रदेशका उत्कृष्ट कृषि व्यवसाय गर्नेलाई एक लाख रुपैयाँ नगदसहित अवार्ड प्रदान गरेको हो । जसमा प्रदेश १ बाट चन्द्र प्रसाद बस्नेत, मधेश प्रदेशबाट सन्तोष कुमार यादव, बागमती प्रदेशबाट युद्ध प्रसाद न्यौपाने, गण्डकी प्रदेशबाट शिव कुमार आले, लुम्बिनी प्रदेशबाट सृजना थारु, कर्णाली प्रदेशबाट दिपेन्द्र कार्की र सुदूरपश्चिम प्रदेशबाट बिमल भण्डारीले अवार्ड प्राप्त गरेका छन् ।
साना किसान लघुवित्त अन्तर्गत संचालित साना किसान सहकारी संस्थाले गाउँ–गाउँमा रहेका किसानहरुलाई टोर्गेट गरी कृषिसम्बन्धी विभिन्न खालका सेवाहरु दिदै आइरहेको छ । यसै सन्दर्भमा संस्थाले सन् २०१३ देखि २०–३० उमेर समूहका युवाहरुलाई कृषि पेशामा आबद्ध गराउने हेतुले इजरायलमा कृषि सम्बन्धी क्षिक्षा तथा तालिमका लागि पठाउने सुरु गरेको थियो ।
संस्थाले ‘लर्न एण्ड अर्न प्रोग्राम’ अन्तर्गत हालसम्म तीन हजार १६२ जना युवाहरुलाई कृषि तालिम तथा शिक्षाको लागि इजरायल पठाइसकेको छ । सो मध्येबाट तालिम प्राप्त गरी नेपाल फर्किएर कृषि पेशामा आबद्ध हुने उत्कृष कृषकलाई संस्थाले प्रोत्साहन स्वरुप अवार्ड प्रदान गरेको हो ।
संस्थाका अनुसार इजरायलबाट तालिमप्राप्त गरी फर्किएर कृषि पेशामा रहेका ३०० जना किसानले अवार्डका लागि फर्म भरेका थिए । सोही मध्येबाट उत्कृष्ट २१ जना छनौट गरी फाइनल ७ जनालाई प्रदेशअनुसार १ लाख रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो ।
संस्थाले उक्त कार्यक्रम संचालन गरेको १० वर्ष पुगेको उपलक्ष्यमा ७ उत्कृष्ट कृषकलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ र अवार्ड प्रदान गरेको जनाएको छ । साथै यस्तो खालको कार्यक्रमले सिँगो राष्ट्रको कृषि क्षेत्रमा समेत प्रोत्साहन मिल्ने संस्थाले विश्वास लिएको छ ।