प्रत्यक्ष वैदेशिक लगानी १४ प्रतिशतले बढ्यो, भारतको सर्वाधिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुनलामा १४.८ प्रतिशतले बृद्धि भएको छ ।
केन्द्रीय बैंकले तयार पारेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७७।७८ अनुसार वैदेशिक लगानीको मौज्दात अघिल्लो आवको तुलनामा १४ प्रतिशतले बढेर दुई खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्तापुँजीको अंश मात्रै ५३.९ प्रतिशत, संचितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । आव २०७७।७८ मा चुक्तापुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा बृद्धि देखिएको हो ।
गत वर्षको असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोडको लगानी रहेको छ । त्यस्तै, चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
यी देशहरुबाट भएको लगानीमध्ये नेपालमा औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानी भएको देखिएको छ । राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा ६०.५ प्रतिशत, सेवा क्षेत्रमा ३९.४ प्रतिशत रहेको देखिएको छ । औद्योगिक क्षेत्रअन्तर्गत पनि सबैभन्दा बढी हाइड्रोपावर क्षेत्रमा लगानी भएको देखिएको छ । जलविद्युत क्षेत्रमा मात्रै ३०.८ प्रतिशत, उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिएको छ । त्यस्तै, कल प्रत्यक्ष लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा रहेको देखिएको छ ।
केन्द्रीय बैंकका अनुसार समिक्षा वर्षमा वैदेशिक लगानीमा संचालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भभने दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आइरहेको छ ।
राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण २०७७।७८ तयार पारिएको हो ।