धितोपत्र बजार पुँजीकरण ४४ खर्बमाथि, ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत

३० भाद्र २०७९, बिहीबार १७:४३

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनासम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब १४ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार धितोपत्र बजार पुँजीकरण सवा २९ खर्बमाथि पुगेको हो ।

अघिल्लो वर्षको यसै अवधिसम्म धितोपत्र बजार पुँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । पछिल्लो महिनाहरुमा पुँजीबजारको अवस्था खस्किँदै गएकोले धितोपत्र बजार पुँजीकरण घट्दै गएको हो ।

त्यस्तै, गत वर्षको साउन मसान्तसम्म ३१६०.१ रहेको नेप्से सूचकाङ्क यस वर्षको साउन मसान्तसम्म २०४१.१ कायम भएको छ । साथै नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २३५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ५३ हाइड्रोपावर कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारीक संस्था र ३ अन्य समूहका रहेका छन् । अघिल्लो वर्षको यसै अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २२० रहेको थियो ।

साथै सूचीकृत कम्पनीहरुमध्ये धितोपत्र बजार पुँजीकरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा रहेको छ । यस्ता संस्थाहरुको हिस्सा ६६.८ प्रतिशत रहेको छ । साथै हाइड्रोपावर कम्पनीको ११.२ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन कम्पनीको ४.२ प्रतिशत, होटलेको १.६ प्रतिशत, व्यापारिक संस्थाको ०.४ प्रतिशत तथा अन्य समूहको कम्पनीहरुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

चालु आवको साउन मसान्तसम्म ५५ अर्ब १० करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको छ । जसमा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, ८ अर्ब ११ करोड बराबरको बोनस शेयर, ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको डिबेञ्चर, ४ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण शेयर, २ अर्ब २४ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र २३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*