बैंकहरुको ब्याजदर बढेसँगै शेयरबजारमा ३३ अंकको गिरावट, हाइड्रोपावर सूचक सर्वाधिक खस्कियो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ३३.९७ अंकको गिरावट आएको छ । असोज १ गतेदेखि लागू हुनेगरी बैंकहरुले धमाधम ब्याजदर बढाएसँगै आज शेयरमार्केटमा ३३ अंकको गिरावट आएको हो ।
साथै आज नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजदेखि नयाँ ब्रोकरहरुको लाइसेन्स खुला गरेको छ । यसका अलावा बोर्डले तीन एक्सचेञ्जको समेत लाइसेन्स वितरण गर्न लाइसेन्स खुलाउने निर्णय गरेको छ । जसमा दुईवटा वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र एउटा धितोपत्र बजार (स्टक एक्सचेञ्ज) संचालन गर्न प्रस्ताव आह्वान गरेको छ ।
नयाँ ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स खुल्ला गरेसँगै बजार बढ्न सक्ने प्रक्षेपण गरेका लगानीकर्ताहरु आजको मार्केट डेप्थका कारण निराशा बन्न पुगेका छन् । नेप्से सूचक आज १.९७ प्रतिशतले घटेर १८७६ को विन्दु्मा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा आज एक अर्ब ६० करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य रहेका छन् । सर्वाधिक आज हाइड्रोपावर सूचक ३.०९ प्रतिशतले घटेको छ ।