राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, कुन खातामा कति?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले असोज १ गते लागू हुनेगरी भदौ ३१ गते बढाएर नयाँ ब्याजदर प्रकाशन गरेको थियो ।
बैंकहरुले प्रकाशन गरेको ब्याजदरमा राष्ट्र बैंकले तोकेभन्दा बढी भएको भन्दै परिमार्जन गर्न निर्देशन दिएको थियो । सोही अनुरुप बैंकहरुले धमाधम ब्याजर परिमार्जन गरेका छन् । सोहीअनुसार राष्ट्रिय बाणिज्य बैंकले पनि ब्याजदर परिमार्जन गरेको छ ।
परिमार्जित नयाँ ब्याजदरअनुसार बैंकले बचत खाताअन्तर्गत न्यूनतम ९.१३३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खाताअन्तर्गत राष्ट्रिय बाणिज्य बैंक रेमिटान्स बचत खातामा १०.१३३ प्रतिशत ब्याजदर तोकेको हो ।
त्यस्तै, बैंकले मुद्धती निक्षेपअन्तर्गत न्यूनतम १०.१३३ प्रतिशतदेखि अधिकतम १२.१३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपअन्तर्गतको ब्याजदरमा अधिकतम १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।