करोडौंको सेटिङमा सवारी साधनको आयात खोल्ने सरकारको तयारी

२७ आश्विन २०७९, बिहीबार ०८:०१

काठमाडौं । निर्वाचनको बेला घुस सेटिङमा जस्तोसुकै निर्णय गर्न पछि नहटेको वर्तमान सरकारले अर्को नयाँ काण्डको रचना सुरु गरेको छ । आर्थिक संकटका कारण श्रीलंका हुन नदिनको लागि लामो समयदेखि रोकिएको विलासी बस्तु अन्तर्गतको महंगा र विलासी गाडी आयात खुल्ला गर्न उच्चस्तरीय राजनीतिक तहमा सेटिङ गर्ने प्रयत्न भइरहेको छ ।

विश्वस्त सूत्रका अनुसार अर्थमन्त्रालय, बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल राष्ट्र बैंकसँगको सेटिङमा नयाँ सवारी साधन आयात खुल्ला गर्न लागिएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, अर्थमन्त्रालयका उच्च अधिकारी र राष्ट्र बैंकका उच्च अधिकारीबीच यस विषयमा ठूलै डिल भएको उच्च स्रोतको भनाई छ ।

यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले १५० सिसीभन्दा माथिको मोटरसाइकल, महंगा मोबाईल, र चार पाङ्ग्रे सवारी साधनको आयातमाथि भोलि अर्थात असोज २८ गतेसम्मका लागि प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्ध भोलिबाट सकिने हुँदा नयाँ निर्णय गरेर खुल्ला गर्न लागिएको अर्थमन्त्रालयका एक उच्च अधिकारीले स्वीकार गरे । त्यस्तै बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका उच्च अधिकारी पनि भोलिबाट सवारी साधनको आयात खुल्ला गर्ने निर्णय हुनसक्ने बताए ।

देशको अर्थतन्त्र गम्भिर आर्थिक संकटतर्र्फ उन्मुख भएको ठहरसहित गत बैशाख १३ गतेबाट महंगा सवारी साधन, हिरा, अनावश्यक खानेकुराहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । सो मध्ये चार वटा सामानको आयात अझै प्रतिबन्धित अवस्थामै छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएशनले गाडी आयात रोक्दैमा देशको अर्थतन्त्र कमजोर नहुने भन्दै तत्काल खोल्न सरकारसँग माग गर्दै आएको छ । तर, अर्थविदहरुले भने देशमा तरलता अभाव झनै चर्कदै गएको, विदेशी मुद्रा संचिती खराव अवस्थामै रहेको, बैंकको ब्याजदर अझै बढ्ने अवस्थामा पुगेकोले तत्काल सवारी साधन आयात खुल्ला गर्नु घातक हुने बताउँदै आएका छन् । सकारले बिज्ञहरुको कुरा नसुनी घुस सेटिङका लागि देशलाई श्रीलंका बनाउन समेत तयार भएर अघि बढेको छ ।

माफियासँग घुस सेटिङमा चुनाव खर्च उठाउन पल्केको सरकारले भने देशको अर्थतन्त्रको संरक्षणमा खासै चासो दिएको पाइदैन । यतिबेला अर्थमन्त्री जनार्दन शर्मा अमेरिका भ्रमणमा रहेका छन् । अर्थमन्त्री नेपालमा नभएको मौका छोपेर सबै प्रकारको गाडी आयात खुल्ला गर्न सेटिङको प्रयास गरिएको छ । सम्भवतः आज वा भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट गाडी आयात खुल्ला गर्ने निर्णय हुनेछ ।

चर्को व्यापार घाटा, रेमिट्यान्सको आप्रवाहको अवस्था तथा विदेशी मुद्रा संचितीको विश्लेषण गर्ने हो भने देशको अवस्था अझै सुध्रिसकेको छैन । वर्र्षदिनको एक चौथाई आर्थिक गतिविधि हुने दशैंमा समेत देशको अवस्था सुध्रन नसकेपछि नेपाली अर्थतन्त्रको आगामी दिन अझै चुनौतिपूर्ण हुने देखिएको छ । यस्तो अवस्थामा सरकारले महंगा सवारी साधनको आयात खोल्नु आत्मघाती हुने विश्लेषण आर्थिक क्षेत्रमा गरिएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बडुले देशको अर्थतन्त्रलाई थप दवावमा पार्ने गरी गाडी आयात खुल्ला गर्ने निर्णय गरेमा अलि अलि जम्मा भएको रकम समेत गाडी आयातमा जानेछ र अहिले नै हाहाकार रहेको तरलता अवस्थामा झनै विकराल अवस्था आएर ब्याजदर १५ प्रतिशत माथि पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*