समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबिच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुईसंस्थाबीच असोज २६ गते मर्जरमा जाने सम्बन्धमा सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
सोहीकारण नेप्सले आज यी दुवै संस्थाको शेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का गरिदिएको छ । आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात ८२ रुपैयाँ (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने सहमति भएको छ ।
मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।
मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने सहमति भएको छ । त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्व रुपैयाँ भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्ब रुपैयाँ भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।