बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरबजारमा सामान्य सुधार, १२ उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । दशैंपछिको दुईदिन उच्च गिरावट आएको शेयरबजारमा त्यसयताका दुई दिन सुधार देखिएको छ ।
बैंकहरुको ब्याजदर नबढ्ने हल्लाले शेयरमार्केटमा एकाएक सुधार देखिन पुगेको हो । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको ब्याजदर घटाउन अध्ययन समिति बनाई नेपाल बैंकर्स संघसमक्ष सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ ।
बजारमा कात्तिकमा बैंकहरुको ब्याज नबढ्ने हल्लाले पनि पछिल्ला दुईदिनयता शेयरबजारमा सुधार देखिन पुगेको केही लगानीकर्ताहरुले बताएका छन् । आज नेप्से परिसूचक ४४.१५ अंकले बढेर १८७० विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । तुलनात्मक रुपमा आज कारोबार रकम पनि केही माथि उचालिएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर सूचक बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १.५३ प्रतिशतले बढेको छ ।