आरएसडिसी लघुवित्तको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो

३ कार्तिक २०७९, बिहीबार १०:२९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो संस्था बनेको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतभन्दा बढी बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ८९ लाख रुपैयाँ मात्र थियो । यस अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा १०१.९८ प्रतिशत बढेको हो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा शतप्रतिशतभन्दा बढी बढेसँगै लघुवित्तको नाफामा उछाल आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११२.९८ प्रतिशत बढेर ५ करोड ४६ लाख रुपैयाँ पु्गेको छ ।

लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १० रुपैयाँ ३४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ६५ पैसा बढेर १८ रुपैयाँ ९९ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

१० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४१ करोड २९ लाख रुपैयाँ सापटी लिई ६ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*