वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कुन बैकको कतिले बढ्यो ? (तथ्यांक सहित)

४ कार्तिक २०७९, शुक्रबार १३:३७

काठमाडौं । असोज लागेपछि वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। बैंकर्स संघको तथ्यांकअनुसार असोज महिनामा मात्रै बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यता, एक महिनामा बैंकहरुले ३० अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

बैंकहरुको कुल ४२ खर्ब २० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । पछिल्लो साता मात्रै बैंकहरुमा २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंकिङ प्रणालीमा अभाव रहेको तरलता केही सहज हुनसक्ने संकेतहरु देखा पर्न थालेका छन् ।

साउन र भदौंमा खास बढ्न नसकेको बैंकहरुको निक्षेप असोजमा भने ह्वात्तै बढेको हो । चुनाव सन्निकट रहेको र यसको व्यवस्थापनका लागि समेत थप रकम प्रणालीमा आउने हुँदा आगामी दिनमा निक्षेप अझै बढ्नसक्ने अवस्था देखिन्छ । यस्तो अवस्था बन्यो भने तरलताको समस्या बिस्तारै कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

नेपाल बैंकर्स संघका अनुसार असोज लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा निकै राम्रो सुधार देखिएको छ । यो महिनामा मात्रै बैंकहरुको निक्षेप रु. ६२ अर्बले बढेको छ।असोजमा ५ वटा बैंकको निक्षेप संकलन घटेको छ भने बाँकी सबै बैंकको निक्षेप संकलन बढेको छ। बैंकहरुमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ९७ अर्ब रुपैयाँले बढाएको छ। इन्भेष्टमेन्ट बैंकले ७ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ६ अर्ब २८ करोड रुपैयाँले बढाएका छन् ।यता सनराइज बैंकको निक्षेप सबैभन्दा धेरै २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ भने एनएमबि बैंक, एनआइसि एशिया बैंक, कुमारी बैंक र एभरेष्ट बैंकको निक्षेप संकलन घटेको छ।

असोजमा बैंकहरुको कर्जा लगानी भने ३० अर्ब रुपैयाँले बढेको छ। बैंकहरुमध्ये ६ बैंकको कर्जा लगानी घटेको छ भने बाँकी सबैको बढेको छ। कर्जा लगानी सबैभन्दा धेरै बढाउनेमा इन्भेष्टमेन्ट बैंक सबैभन्दा अगाडि छ। बैंकको कर्जा ३ अर्ब ७९ करेड रुपैयाँले बढेको छ।यस्तै नबिल बैंकले पनि कर्जा लगानी २ अर्ब ९६ करोड रुपैयाँले बढाएको छ भने हिमालयन बैंकले २ अर्ब ८४ करोड र मेगा बैंकले २ अर्ब ७९ करोड रुपैयाँले बढाएको छ।

यता लक्ष्मी बैंकको कर्जा लगानी ९१ करोड रुपैयाँले घटेको छ भने ग्लोबल र सनराइज बैंकको ४४ अर्ब रुपैयाँले घटेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि कर्जा लगानी घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*