सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजन सिं भण्डारीको अध्यक्षतामा अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको सो सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश पारित गरेको छ ।
साथै उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको ५१.०७ः४८.९३ बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने जस्ता प्रस्तावहरु पारित गरेको छ ।
यसका अलावा आव २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित प्रस्तावहरु सबै पारित गरेको छ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डालाई अनुमोदन गरी पारित गरेको छ ।
बैंकले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब (बुकक्लोज) असोज २८ गते एक दिनका लागि तोकेको थियो । यसर्थ असोज २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित भई बैंकको प्रस्तावित लाभांश पाएका छन् ।