धितोपत्र बजार पुँजीकरण २७ अर्ब ४४ करोडमा सीमित, नेप्सेमा दुई महिनामा ८ अर्ब ३१ करोड रुपैयाँका बोनस शेयर सूचीकृत

४ कार्तिक २०७९, शुक्रबार १४:५३

काठमाडौं । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण अघिल्लो आवको तुलनामा घट्न पुगेको हो ।

गत वर्षको भदौ मसान्तसम्म बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, यस वर्षको भदौ मसान्तसम्म नेप्से सूचाङ्क १९१०.४ विन्दुमा कायम हुन पुगेको छ । गत वर्षको यसै अवधिसम्म नेप्से सूचाङ्क २८१२.३ विन्दुमा रहेको थियो । अर्थतन्त्र खस्किँदै गएपछि नेपालको शेयरबजार घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

त्यस्तैै, नेप्सेमा सूचीकृत कम्पनीको संख्या २३९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५७ हाइड्रोपावर, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक कम्पनी र ३ अन्य समूहका रहेका छन् ।

गत वर्षको भदौ मसान्तसम्म सूचीकृत कम्पनीको संख्या २२० रहेका थिए ।सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यस्तै, हाइड्रोपावर कम्पनीको ११.१, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.३ प्रतिशत, होटलहरुको १.६, व्यापारिक कम्पनीको हिस्सा ०.४ र अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

चालु आवको दुई महिनामा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको बोनस शेयर, ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको आइपीओ, ३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल ७६ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*