निष्क्रिय कर्जा बढेसँगै जानकी फाइनान्सको नाफा र इपीएस दुवै घट्यो

१७ कार्तिक २०७९, बिहीबार ११:१३

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले २४ लाख १९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.३४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २४.६२ प्रतिशत बढेर ५ करोड ६ लाख रुपैयाँ पु्गेको छ भने फाइनान्सको इम्पेरमेन्ट चार्ज ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । जसकारण सञ्चालन मुनाफा ८९.९३ प्रतिशत घटेर ३ करोड ४१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १७ रुपैयाँ २२ पैसा घटेर १ रुपैयाँ ४० पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २५३.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८० पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेको छ भने जगेडा कोष ३७.९७ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप १.६६ प्रतिशत बढेको छ भने कर्जा २.५० प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*