आम्दानी बढेसँगै एक्सेल डेभलपमेन्ट बैंकको नाफामा सुधार, इपीएस कति ?

१७ कार्तिक २०७९, बिहीबार १३:२४

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफा गत वर्षको तुलनामा सुधार देखिएको छ ।

चालु आवको तीन महिनामा बैंकले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म बैंकले एक करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३७.४१ प्रतिशतले बढेर १५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा पनि ९७.३१ प्रतिशतले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म बैंकको चुक्तापुँजी एक अर्ब २४ करोड रुपैयाँ रहेकोमा बैंकको जगेडा कोषको आकार सामान्य बढेर कोषमा ४० करोड २९ लाख रुपैयाँ संचित रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । गत आवको यसै अवधिसम्म ८.०६ रुपैयाँ रहेको इपीएस यस अवधिसम्म घटेर ७ रुपैयाँ १ पैसामा सीमित भएको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ १३२.८९ रुपैयाँ र पीई रेसियो ४४.२२ गुणा रहेको छ ।

साथै पहिलो त्रैमासमा बैंकले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*