राधी विद्युत् कम्पनीले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १.४७५२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको हो ।
कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि ९५ लाख ३५ हजार ७६०.९९ कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ शेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता शेयर बाँडफाँट गरेको थियो। बाँडफाँट नभएको १३ लाख ५२७.९९ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो ।
सो शेयर खरिदका लागि लगानीकर्ताले कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद तोकिएको छैन।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौँडा, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।













