लाभांश प्रस्तावसहित नागरिक स्टक डिलरले डाक्यो साधारण सभा, आइपीओ निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । नागरिक स्टक डिलर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यालय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि बस्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.८५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
साथै यसबाहेक कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।













