ब्याज आम्दानी घटेपनि नाडेप लघुवित्तको मुनाफा करोडमाथि उक्लियो, इपिएस कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा बढ्न पुगेको छ ।
चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ९.१३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लुघवित्त ९३ लाख ४० हजार रुपैयाँ नोक्सानमा थियो ।
यस अवधिसम लुघवित्तको खुद ब्याज आम्दानी भने ९.१३% ले घटेर ७ करोड १४ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घटेपनि लुघवित्तको सञ्चालन नाफा बढेको र इम्पेयरमेन्ट चार्ज रिभर्स भएको कारण नाफा बढेको हो । गत वर्ष ३ करोड ७७ लाख १७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ करोड ६२ लाख ६८ हजार रुपैयाँ रिभर्स भएको छ ।
गत आर्थिक वर्ष १ करोड २ लाख २९ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस संस्थाले यो वर्ष १ करोड ६६ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा १ करोड ३८ लाख २ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ पैसा छ ।
समिक्षा अवधिसम्म लुघवित्तको चुक्तापुँजी २० प्रतिशतले बढेर ४८ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने रिभर्जको आकार ३६.३९ प्रतिशतले घटेर २४ करोड १६ लाख रुपैयाँ सीमित भएको छ । त्यस्तै, लघुवित्तको निक्षेप १३.४५ प्रतिशत र कर्जा परिचालन १७.७१ प्रतिशतले बढेको छ ।













