नेपाल पुनर्बीमा कम्पनीलाई स्वायत्त बनाउनुपर्छ: भोजराज शर्मा

४ मंसिर २०७९, आईतवार १७:३१

बीमा विज्ञ भोजराज शर्मा नेपाली बीमा क्षेत्रका पुराना तथा अनुभवी व्यक्ति हुन् । बिभिन्न बीमा कम्पनीको व्यवस्थापन नेतृत्वदेखि बीमा समितिमा विज्ञ सल्लाहकार भएर काम गरेको अनुभव उनीसँग छ । अहिले भने उनी इन्स्योरेन्स इन्सीच्यूट अफ नेपाल (आईएनएन) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छन् । बिशेषगरि बीमा विज्ञको रुपमा चिनिने शर्माले नेपालमा आकस्मीक बीमा कोष सञ्चालन गर्ने, पुनर्बीमा कम्पनी स्थापना गर्ने घटनालाई पनि नजिकबाट नियालेका छन् । प्रस्तुत छ, उनै शर्मासँग पुनर्बीमाको बिभिन्न पक्षमा केन्द्रीत भएर गरिएको कुराकानीको सारः

तपाई नेपाली बीमा क्षेत्रको पुरानो र अनुभवी व्यक्तित्व हुनुहुन्छ । नेपालमा आकस्मीक बीमा कोषको आवश्यकता किन देखियो र त्यसलाई पुनर्बीमा कम्पनीमा किन रुपान्तरण गरियो ?
पहिला संसारका सबै पुनर्बीमा कम्पनीले आतंकवाद (टेरोरिजम) सम्बन्धी बीमाको पुनर्बीमा गर्दथे । तर, टुइन टावरमा हवाई हमाला भएपछि भने अन्तरराष्ट्रिय बजारका पुनर्बीमा कम्पनीहरुले आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा गर्न छोडे । संसारका ठुला ठुला पुनर्बीमा कम्पनीहरु समेत यसबाट पछि हटे । तर, यता बीमा कम्पनीहरुले भने टेरोरिजम (आतंकवाद) बीमा भने गरिरहेका थिए ।

सोही बेला नेपालमा पनि माओवादी जनयुद्ध कायम थियो । जनयुद्धका कारण नेपालमा ठुलो मात्रामा जनधन तथा भौतिक सम्पत्तिको क्षति भइरहेको थियो । सोही कारण नेपाली बीमा कम्पनीहरुमा आउने दावी पनि बढ्दै गएको थियो ।
स्वदेशमा पुनर्बीमा कम्पनी नभएका कारण बीमा कम्पनीहरुलाई विदेशमा पुनर्बीमा गर्नुपर्ने बाध्यता थियो । तर, विदेशी कम्पनीहरुले आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा गर्न बन्द गरेपछि आतंकवाद बीमामा परेको दावी भुक्तानीमा गाह्रो भइरहेको थियो । त्यसपछि यहाँका बीमा कम्पनीहरु आफै अग्रसर भएर आकस्मीक बीमा कोष स्थापना गरेका हुन् । तत्कालिन समयमा आतंकवाद बीमाको पुनर्बीमा गर्ने उद्देश्य अुनसार नै पुलको रुपमा उक्त कोष स्थापना गरिएको थियो । अन्य बीमाको पुनर्बीमा गर्ने काम भने कोषबाट हुने थिएन ।

उक्त कोषलाई प्रभावकारी बनाउन कानुनी मान्यताको आवश्यता पनि उत्तिकै थियो । त्यसैले कोषमा सरकारलाई पनि आवद्ध बनाएर कानुनी मान्यता दिलाउने योजना बन्यो । साथै, व्याकअप सरकार भएपछि कोष सञ्चालन गर्न पनि सहज हुन्थ्यो । त्यसपछि सरकारको ५ करोड रुपैयाँ र बीमा कम्पनीहरुको ५ करोड रुपैया शेयर लगानी गरेर कुल १० करोडको पुँजीमा आकस्मीक बीमा कोष खडा गरिएको हो । पछि कोषको नियामवली समेत आयो । फलस्वरुप नै कोष स्थापित भएको थियो ।

त्यसपछि नेपालमा आतंकवाद बीमा सम्बन्धी व्यवसाय पनि एकद्धार प्रणालीमा आयो । भारतको जीआईसी पुनर्बीमा कम्पनीले पनि आकस्मकि बीमा कोषलाई व्यवसाय दिन थालेको थियो । साथै, कोषले पनि जीआईसीसँग कोटा शेयर गरेर आतंकवाद बीमाको पुनर्बीमा गर्दै आएको थियो । समग्रमा कोषले राम्रो व्यवसाय गरेको थियो ।

पहिला जनयुद्धका कारण नेपालमा ठूलो मात्रामा जनधन तथा भौतिक सम्पत्तिको क्षति भएको थियो । फलस्वरुप कोषमा दावी पनि ठूलो मात्रामै पर्दथ्यो । साथै, कोषले पनि त्यसरी आउने दावी सहजै भुक्तानी गर्यो । पछि विस्तारै माओवादी जनयुद्ध कम हुँदै पछि समाप्तनै भयो । त्यसपछि कोषमा दावी पनि नगन्य मात्रामा पर्न थाल्यो । फलस्वरुप नाफा पनि मज्जाले बढ्न थाल्यो । पुँजी पनि राम्रोसँग जम्मा हुदैं गयो । यसका अलावा व्यवसाय पनि बढ्दै गएको थियो । यद्यपि, माओवादी जनयुद्ध सकिएपनि आतंकवादको जोखिम सकियो भनेर चुपचाप बस्ने अवस्था भने भएन । त्यसैले माओवाद्धी द्धन्द्ध सकिएपनि त्यो कोषलाई मासेनौं, सञ्चालन गरिरहेका थियौं । किनकी, विदेशी कम्पनीहरुले आतंकवादको पुनर्बीमा नलिने प्रवृति कायमै थियो । साथै, राजनीतक रुपमा अस्थीर मानिने नेपालमा कुनै पनि बेला राजनीतिक रुपमा कुनै पनि घटना हुन सक्थ्यो । तसर्थ, कोषलाई सञ्चालन गरिरहेकै थियौं ।

तर पछि बजारको आवश्यकता र अन्तरराष्ट्रिय परिवेश अनुसार नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्ने देखियो । त्यसपछि कोषलाई नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने योजना अघि बढेको हो । यसपछि कोषमा भएको सबै पुँजीलाई डीडीए मार्फत चुक्तापुँजीमा रुपान्तरण गरियो । साथै, त्यसमा नेपाल सरकार र बीमा कम्पनीहरुलाई पनि थप शेयर लगानी गर्न भनियो । त्यसपछि नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) स्थापना भएको हो ।

अहिले नेपालमा अर्काे हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि) पनि स्थापना भइसकेको छ । बजारको आवश्यकताअनुसार नै उक्त कम्पनी स्थापना भएको हो । त्यस सम्बन्धी अध्ययन गर्ने कार्यमा म स्वयम आवद्ध थिए । बजारमा प्रतिस्पर्धा बढाउन, इपीसेन्सी बढाउन थप अर्काे पुनर्बीमा कम्पनीको आवश्यकता अध्ययनले देखाएको थियो, त्यसपछि निजी क्षेत्रबाट नयाँ पुनर्बीमा कम्पनी स्थापना भएको हो ।

कम्पनी नै स्थापना गरेर पुनर्बीमा व्यवसाय गर्नु नेपालमा पुर्णत नयाँ अभ्यास थियो, सुरुवाती चरणमा यसको व्यवसाय कस्तो थियो ? तत्कालिन काम गर्दा के कस्ता समस्या देखिएका थिए ?

शुरुमा यसको व्यवसाय धेरै नै कम थियो । बिशेषगरि पहिला दक्ष म्यानपावरको अभाव थियो । तसर्थ, पहिला कर्मचारीलाई तालिम दिन विदेश पठाउने काम पनि भयो । यहाँ पनि तािलम दिने काम हुन्थ्यो । फलस्वरुप अहिले कम्पनीमा दक्ष म्यानपावर खडा भएका छन् । कम्पनी पनि राम्रोसँग स्थापित भइसकेको छ । अहिले हाम्रै इन्सीच्यूटबाट पनि पुनर्बीमा सम्बन्धी तालिम दिन थालेका छौं ।

अब नेपाल पुनर्बीमा कम्पनी कसरी अघि बढ्नुपर्छ ?

अब नेपाल पुनर्बीमा कम्पनीले विदेशबाट ल्याएर भएपनि टेक्नीकल म्यानपावर पनि राख्नुपर्छ । वा, कार्यरत म्यानपावरलाई विदेशमा पठाएर भएपनि प्राविधिक रुपमा दक्ष बनाउनुपर्छ । कर्मचारीको क्षमता बढाउन तालिमनै प्रभावकारी हुन्छ । त्यसमाथि पुनर्बीमामा ट्रेन म्यानपावरको एकदमै आवश्यकता हुन्छ । चुक्तापुँजीको व्याकअपले मात्रै यो व्यवसाय गर्न सकिदैन । सही अन्डराइटीङ गर्ने, जोखिम विश्लेषण गर्ने लगायतका काम गर्न सक्ने ट्रेन म्यानपावर चाहिन्छ । तसर्थ, कम्पनीले कर्मचारीको क्षमता विकास गर्न तालिममा एकदमै जोड दिनुपर्छ । समग्रमा नेपाल रिले ट्रेन म्यानपावर बढाएर आफ्नो क्षमता बढाउनुपर्छ ।
यस्तै, कम्पनीले विदेशबाट व्यवसाय ल्याउन बढी मात्रामा जोड दिनुपर्छ । त्यसपछि विदेश मुद्राको आम्दानी पनि बढ्छ, हामीले विदेशी मुद्राको आम्दानी बढाउने उद्देश्य अनुरुप पनि पुनर्बीमा कम्पनीको अवधारणा अघि बढाएको हो । तसर्थ, कम्पनीले स्वदेशमा भन्दा पनि विदेशी बजारमा बढी जोड दिनुपर्छ ।
यद्यपि, बाहिर गएर व्यवसाय लिदाँ जोखिम पनि स्वभाविक रुपमा आउछ । तसर्थ, विदेशबाट जति व्यवसाय ल्याइन्छ, त्यसमा आफुले बहन गर्न सक्ने जोखिम राखेर बाँकी रेट्रोसेसन मार्फत अन्य कम्पनीलाई दिनुपर्छ ।
समग्रमा पुनर्बीमा मार्फत बाहिरीने भन्दा भित्रिने रकम बढी हुने गरि काम गर्नुपर्छ । साथै, सोहीअनुसार कम्पनीको क्षमता विकास गर्नुपर्छ । यसका अलावा बीमा कम्पनीहरुलाई दिने सेवा सुविधा पनि सोहीअनुसार राख्नुपर्छ ।

तपाईको नजरमा नेपाल पुनर्बीमा कम्पनीलाई अबको चुनौती के के हुन सक्छन् ?

मेरो विचारमा नेपाल रिलाई प्रोटेक्शनको आवश्यकता छ । नेपाल रि आफैमा सरकारी कम्पनी हो । तसर्थ, यसलाई सरकारको प्रोटेक्सन चाहिन्छ । प्रोटेक्सनमा पनि कस्तो प्रोटेक्सन दिने भन्ने आउला, सरकारले नेपाली बीमा कम्पनीहरुको डाइरेक्सेसन बिजनेश दिएर, बिभिन्न प्रिफेन्स दिएर यस कम्पनीलाई सहयोग गर्नुपर्छ । साथै, नेपाल रिलाई बीमा समितिको नियमन भित्र राखेर स्वायत्त बढाउन पर्छ । कम्पनीमा सरकारको प्रत्यक्ष हस्तक्षेप हुने नीति हुनु हुदैन, जसरी निजी कम्पनीले तत्काल कुनै पनि निर्णय गर्न सक्छन्, सोही अुनसार नेपाल रिले पनि निर्णय गर्न पाउनुपर्छ । सरकारको नियन्त्रणमा यसलाई राख्न हुदैन ।

यस्तै, कम्पनीको क्रेडिट रेटीङ गर्ने बिषयमा पनि जोड दिनुपर्छ । त्यसको लागि पहिला देशकै क्रेडिट रेटीङ गर्नुपर्छ । देशको रेटीङ नहुदाँ कम्पनीको रेटीङ गर्न चुनौती भएको छ । फलस्वरुप कम्पनीले विदेशी बजारबाट क्षमताअनुसार व्यवसाय लिन सकेको छैन । विदेशी कम्पनीहरुले रेटेट पुनर्बीमा कम्पनीहरुसँग व्यवसाय गर्न खोज्छन् । तर, नेपाल रि अझै रेटेट भएको छै । यद्यपि, यो सरकारी कम्पनीको भएको हुनाले रेटीङको आवश्यकता भने कम हुन्छ । तर, रेटीङ भएमा अझै राम्रो हुन्छ । तसर्थ, कम्पनीको रेटीङ गर्ने गरि काम गर्नुपर्छ ।

अन्त्यमा नेपाल रिलाई के सल्लाह सुझाव दिन चाहानु हुनछ ?

नेपाल रि सरकारी स्वामित्वको कम्पनी हो । अहिले निजी क्षेत्रबाट हिमालयन रि नाम गरेको अर्काे पुनर्बीमा कम्पनी स्थापना भएको छ । अब नेपाल रिले निजी क्षेत्रको कम्पनीसँग प्रतिस्पर्धा बढाउने गरि आफ्नो इपीसेन्सी तथा क्षमता बढाउन पर्छ । त्यसको लागि बीमा कम्पनीहरुलाई दिने सेवा पनि राम्रो हुुनुपर्छ । समग्रमा कम्पनीले मोस्ट इपीसेन्न्सी र प्रतिस्पर्धाको क्षमता बढाउने गरि काम गर्नुपर्छ ।

यस्तै, पुनर्बीमाको नलेज बढाउने गरि पनि काम गर्नुपर्छ । यसको लागि पटक पटक आन्तरीक तथा बाह्य रुपममा कर्मचारी तथा बीमा कम्पनीहरुलाई एकाडेमिक तामिल पनि गर्नुपर्छ । साथै, कम्पनीले तोकिएको न्युनतम तर भन्दा तल गएर व्यवसाय गर्न हुदैन । साथै, त्यस्तो बिजेनश लिनु पनि हुदैन । नेपाल रिले वाच डक भएर काम गर्नुपर्छ ।

यस्तै, अब नेपाल रिले आफैलाई विकास गर्न पनि जोड दिनुपर्छ । त्यसको लागि चाहिने बिषयबस्तुबारे बीमा समिति र सरकारसँग परामर्श समेत लिनुपर्छ । यस्तै, कम्पनीले विदेशी बजारबाट पनि व्यवसाय लिएको छ । साथै, भविष्यमा पनि लिनुपर्छ । तसर्थ, विदेशी बजारमा पनि आफुलाई प्रतिस्पर्धी बनाउने गरि कम्पनीले आफ्नो इपीसेन्सी बढाउनुपर्छ ।

यस्तै, कम्पनीको हरेक कर्मचारीमा सिक्ने भावना हुनुपर्छ । तालिममा मात्रै जोड गरेर हुदैन । पुनर्बीमा सम्बन्धी बढी भन्दा बढी ज्ञान लिने गरि अगाडि बढ्नुपर्छ । साथै, कर्मचारीलाई पनि सोहीअुनसार सेवा सुविधा दिनुपर्छ ।

बीचमा केही कर्मचारीहरु कम्पनीबाट बाहिरीए, उनीहरु के कति कारणले बाहिरीए ? तलव तथा सेवा सुविधा पर्याप्त छन् कि छैनन् ? काम गर्ने बातावरण कस्तो छ ? यी यस्ता बिषयमा अध्ययन अनुसन्धान गरेर कर्मचारी रोक्ने नीति कम्पनीले ल्याउनुपर्छ ।

साथै, कम्पनीको विकासमा लोक सेवाबाट ल्याएको कर्मचारीले मात्रै सम्भव हुदैन । त्यो पनि विकासको एउटा बाधक हो । लोकसेवाबाट आउने कर्मचारीलाई नराम्रो भन्न खोजेको पनि होइन । तर, लोकसेवाबाट मात्रै आएका कर्मचारीबाट भने कम्पनीको विकास सम्भव हुदैन । किनकी, यो पुर्णत प्राविधिक रुपमा गरिने काम हो । तसर्थ, कम्पनीले बजारबाटै भनेको बेला आफैले राम्रो, प्राविधिक तथा दक्ष जनशक्ति ल्याउन पाउने नीति सरकारले गरिदिनुपर्छ । तर, अहिले लोकसेवाबाट मात्रै कर्मचारी नियुक्ती गर्ने नीति छ । त्यसले गर्दा पनि भनेको समयमा भनेको मान्छे ल्याउन सकिदैन । अहिले तत्काल पुनर्बीमा कम्पनीलाई एउटा जनशक्ति चाहिएको छ र त्यो जनशक्ति पनि आउन तयार छ । तर, नीति गर्दा त्यस्तो व्यक्तिलाई नियुक्त गर्न सकिदैन ।

तसर्थ, कर्मचारी नियुक्ती गर्ने बिषयमा प्रचलित नियम परिवर्तन गर्नुपर्छ र कुनै पनि समयमा भनेजस्तो जनशक्ति नियुक्त गर्न सक्ने नीति ल्याउनुपर्छ । त्यसपछि कम्पनीको व्यवसायीक विकासमा पनि ठुलो सहयोग पुग्छ । समग्रमा कम्पनीलाई चाहिने र आवश्यक पर्ने म्यानपावर भनेको समयमा नियुक्त गर्न सक्ने गरि नीति ल्याउनुपर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*