वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, कुन बैंकले कति गरे निक्षेप संकलन ?

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी कात्तिकमा बैंकहरुले थप २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै कात्तिक मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँमा थियो।
कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो थोरै घटेर ८७.१० प्रतिशत रहेको छ। गत असोज मसान्तसम्म औसत सीडी रेसियो ८७.२० प्रतिशत थियो।
कात्तिकमा सानिका बैंकको निक्षेप संकलन सबैभन्दा धेरै ५ अर्ब ९० करोड रुपैयाँले बढाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले पनि ५ अर्ब ७६ करोड रुपैयाँले बढाएको छ ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप संकलन ४ अर्ब ६७ करोड रुपैयाँले घटेको छ।














