नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ, एकता र उत्कृष्टतामा जोड

२७ पुष २०७९, बुधबार १२:१६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो ।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ यी दुबै बैंकले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । साथै एकिकृत कारोबारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।

काठमाडौंको अलफ्ट होटल ठमलेमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुनेछ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगा बैंकको १६ अर्ब ७६ करोड रूपैयाँ छ । मर्जपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*