दुई निर्जिवन बीमा कम्पनीसहित १७ कम्पनीको साधारण सभा भोलि हुँदै, कुनले कति लाभांश पारित गर्दैछ ?

२८ पुष २०७९, बिहीबार १४:१९

काठमाडौं । चार वाणिज्य बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २९) गते बस्दैछ । नेपाल बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक र माछापुच्छ्रे बैंकको साधारण सभा भोलि बस्ने भएको हो ।साथै भोलि नै दुई निर्जिवन बीमा कम्पनीको समेत साधारण सभा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सभा भोलि बस्ने भएको हो । त्यस्तै, महालक्ष्मी विकास बैंक, शिवम् सिमेन्ट्स पनि भोलि सभा बस्दैछ ।

यसका साथै चार हाइड्रोपावर कम्पनी नेपाल हाइड्रो डेभलोपर्स, कालिका पावर, श्वेत गंगा, हिमालयन पावर पार्टनर र चार वित्त कम्पनी आइसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पनि भोलि नै साधारण सभा रहेको छ । त्यस्तै, वित्तीय संस्थामा आरएसडीसी लघुवित्तको पनि भोलि नै सभा बस्दैछ ।

१७ कम्पनीमध्ये पाँच कम्पनी बाहेकका सबै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव नगर्ने कम्पनीमा एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, मन्जुश्री फाइनान्स, श्वेत गंगा हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहेको छ ।

चार वाणिज्य बैंक
चार वाणिज्य बैंकको साधारण सभा भोलि (पुष २९) गते बस्दैछ । नेपाल बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक र एनआइसी एशिया बैंकको सभा भोलि बस्ने भएको हो । चारमध्ये नेपाल र नबिलले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् भने माछापुच्छ्रे र एनआइसी एशियाले लाभांश प्रस्ताव गरेका छैनन् ।

नेपाल बैंकको ६३औं सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै, नबिल बैंकको ३८औं सभा सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले १८.५० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै एनआइसी एशिया बैंकको २५औं साधारण सभा होटल आनन्द तिलगंगा काठमाडौंमा बिहान ९ बजे र माछापुच्छ्रे बैंकको २४औं साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । दुवै बैंकले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन ।

दुई निर्जिवन बीमा कम्पनी
सिद्धार्थ र प्रिमियर इन्स्योरेक्सको वार्षिक साधारण सभा भोलि (पुष २९) गते छुट्टाछुट्टै बस्दैछ । दुवै कम्पनीले लाभांश र मर्जर प्रस्ताव समेत सभा बस्ने भएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै प्रिमियर इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २९औं सभा लिसारा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहान ११ बजे बस्नेछ । सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै सभाले सिद्धार्थ इन्स्योरेन्ससँगको सबै मर्जर प्रस्ताव पारित गर्नेछ ।

चार वित्त कम्पनी
चारवटा फाइनान्सको सभा भोलि (पुष २९) गते बस्दैछ । आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, मन्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सभा भोलि बस्ने भएको हो ।

चारमध्ये मन्जुश्री फाइनान्स बाहेक सबै फाइनान्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । आइसीएफसी फाइनान्सको १९औ सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै सेन्ट्रल फाइनान्सको २६औं सभा कम्पनीको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा बिहान १० बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८औं सभा कम्पनी रजिष्टार्डको कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै मन्जुश्री फाइनान्सको वार्षिक साधारण सभा थापागाउँ बैंक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

चार हाइड्रोपावर कम्पनी
चार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा भोलि बस्दैछ । नेपाल हाइड्रो डेभलोपर्स, हिमालयन पावर पार्टनर, कालिका पावर र श्वेत गंगा हाइड्रोपावरको सभा भोलि बस्ने भएको हो ।

जसमध्ये श्वेतगंगा हाइड्रोपावर र हिमालयन पावर र्पाटनरले लाभांश प्रस्ताव गरेका छैनन भने नेपाल हाइड्रो र कालिका पावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । नेपाल हाइड्रो डेभलोपर्सको १६औं साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै कालिका पावर कम्पनीको सभा कम्पनीको रजिष्टार्ड कार्यालय भरपुर चितवनमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै हिमालयन पावर पार्टनरको १०औं सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे र श्वेत गंगा हाइड्रोपावरको छैठौं सभा कुण्डालिनी दरबार एण्ड बैंक्वेट, चन्डोल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । यी दुवै कम्पनीको सभाले गत आवको वार्षिक प्रवितेदन उपर छलफल गरी पारित गर्नेछ । दुवै कम्पनकिो सभाले गत आवको मुनाफाबाटकुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश पारित गर्नेछ ।

आरएसडीसी लघुवित्त
आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आवको मुनाफबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।

शिवम् सिमेन्ट्स
शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा होटल सामना हेटौंडामा बिहान १० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*