सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्ने, क-कसले दिन पाउछन् आवेदन ?

४ माघ २०७९, बुधबार ०६:०५

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।

आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं। १ र २, मेरिङदेन गाउँपालिका वडा नं। २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं। ५ तथा मैवाखोला वडा नं १ परेका छन् । यता, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले माघ १८ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद फागुन ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारमा रहेकाहरुले भने माघ १८ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

स्थानीय बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लाृेबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*