तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

३ बैशाख २०८०, आईतवार ०७:५१

समाचार विश्लेषण

नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर, महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा उल्लेखित विवरण अनुसार अबको एक महिनापछि सरकारसँग दैनिक प्रशासनिक खर्च चलाउने पैसा हुनेछैन । 


यस्तो अवस्थामा शेयर बजारमा कस्तो प्रभाव पार्छ भनेर आम चासोको विषय बनिरहेको छ । केही मानिसहरु यही मौका हो भन्दै शेयर बजार अझै घटाउन उद्यत हुनेछन् र भएका पनि होलान् भने केही मानिसहरु अर्थतन्त्र अब सब ठिक भइसक्यो भन्दै शेयर बजारमा उछाल ल्याउन खोज्नेहरु पनि छन् । 


अहिले नै निर्माण व्यवसायीहरुले विकास आयोजना सम्पन्न गरे बापत अर्बौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । जसको परिणाम ठेकेदारहरुले गम्भिर आर्थिक संकटको सामना गरिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव बैंक ऋण र राजश्वमा समेत पर्ने निश्चित छ । 


चालु आवको नौ महिनामा राजश्व लक्ष्यको ५० प्रतिशत पनि राजश्व संकलन हुन सकेको छैन । अबको तीन महिनामा बाँकी ५० भन्दा बढि राजश्व संकलन गर्छु भन्नु सरकारको कोर्रा कल्पना वा दिवा सपना मात्रै हुन जान्छ । आर्थिक अवस्था दयनीय हुँदै गएको, जनता आर्थिक संकटमा परेर कर समेत तिर्न नसक्ने अवस्थामा पुगेकोले बाँकी रहेको तीन महिनामा बढिमा लक्ष्यको २५ प्रतिशत कर संकलन भएमा कूल कर संकलनको अवस्था ७५ प्रतिशत पुग्नेछ । त्यस्तो अवस्थामा सरकारलाई चालु खर्च धान्नै मुश्किल पर्ने देखिएको छ । 


देशको अर्थतन्त्र ठीकठाक छ, भुक्तानी सन्तुलनको अवस्था पनि राम्रो रहेको छ । राष्ट्र बैंकका अनुसार अर्थतन्त्रमा खास समस्या छैन । राष्ट्र बैंकको तथ्याङ्कमा स्वदेशी  र विदेशी मौद्रिक परिचालन र भुक्तानीको लागि सब ठीक ठाक छ । किनभने नेपालमा आउने रेमिट्यान्सको फ्लो ठूलो छ । जसको परिणाम अन्तर्राष्ट्रिय व्यापारमा नपर्ने देखिएको छ । तर, मुख्य शहरका सटरहरु बन्द हुन थालेकोले अब आयात पनि ग्राफमा देखिने गरी घट्ने निश्चित छ । जब आयात घट्छ अनि राजश्व संकलन झनै तल र ग्राफमा देखिने गरी नै घट्ने भईहाल्यो । अहिलेको समस्या चलायमान हुनुपर्ने अर्थतन्त्र खुम्चिँदै जानु हो । जसको प्रत्यक्ष असर सरकारलाई कर संकलनमा पर्न गएको छ ।


यही अवस्था रहे वा सुधार नै भएपनि यस वर्ष सरकारलाई कम्तीमा २५० अर्ब रुपैयाँको जोहो तत्कालै गर्नुपर्ने दवावमा अर्थमन्त्रालय रहेको छ । यस्तो अवस्थामा सरकारले २५० अर्ब कहाँबाट उठाउँछ ? आन्तरिक बजारबाट उठाएमा अहिलेको ब्याजदर बढेर १५ प्रतिशत पुग्न सक्छ, जुन नेपालको अर्थतन्त्र श्रीलंका भन्दा भयानक अवस्थामा पुग्न मद्दत गर्नेछ । नेपालका बैंकहरुले सरकारलाई चाहिने २५० अर्ब रुपैयाँ दिन सक्ने अवस्थामा नै छैनन् । त्यसैले पनि सरकारले आन्तरिक रुपमा बैंकहरुबाट ऋण लिनु घातक भन्दा पनि महाघातक हुनेछ । 


त्यसो भए कसले पत्याउँछ ? बैशाखको दोस्रो साता प्रधानमन्त्री प्रचण्ड भारत जाने तयारीमा रहेका छन् । प्रचण्डले यसअघि बोआओ फोरम फर एसिया सम्मेलन बहिस्कार गरेको र बैशाखको दोस्रो साता भारत जान लागेकोले चीनले प्रचण्डलाई पक्कै २५० अर्ब रुपैयाँ ऋण पत्याउने छैन । सत्तामा पुग्ने वित्तिकै भारतीय दलाली गर्नेहरुलाई चीनले असहयोग गर्दै आएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्पनीसँगको जलविद्युत सम्बन्धी विकास आयोजना खोसेर भारतीय कम्पनीलाई दिने निर्णय गरेकाले पनि प्रचण्डले नैतिक रुपमा चीनसँग रकम माग्न कठिन हुनेछ । 


भारतीय अर्थतन्त्र बलियो अवस्थामा रहेको भएपनि प्रचण्डलाई चाहिने २५० अर्ब रुपैयाँ मोदीले दिन्छन् भनेर विश्वास गर्न सकिदैन । भारत सधैं नेपाललाई कमजोर बनाएर सत्तासँग बार्गेनिङ गर्ने हुँदा २५० अर्ब रुपैयाँको लागि सम्भवतः चुच्चे नक्सा वा यस्तै कुनै सम्झौता नगराई २५० अर्ब रुपैयाँ दिन्छ भनेर विश्वास गर्न सकिदैन । त्यसो भए प्रचण्डले कर्मचारीलाई तलव भत्ता खुवाउन अमेरिकाबाट २५० अर्ब रुपैयाँ ल्याउन सक्लान ? कुनै पनि अवस्थामा सम्भव देखिदैन । 


माथि उल्लेखित सन्दर्भहरुले देशको आर्थिक अवस्था सब ठीक ठाक भएपनि सरकार भने टाट उल्टिने निश्चित छ । त्यस्तो अवस्थामा शेयर बजार के होला ? आम चासोको विषय बनेको छ । नेपालको शेयर बजार अहिले नै न्यूनतम् भन्दा न्यूनतम् बिन्दुमा झरिसकेकोले देशका अगाडि उत्पन्न गम्भिर आर्थिक संकटले शेयर बजारलाई ठूलो असर पार्दैन । बैंकबाट मार्जिन थपको समस्या खासै नहुने, कारोबार कम हुने हुँदा शेयर बजारमा पनि कारोबार कम होला तर समग्र शेयरको मूल्य धेरै तल झरेर लगानीकर्तालाई अप्ठेरो पर्ने अवस्था सिर्जना नहुनसक्छ । अहिलेको शेयर बजार राजनीतिक अस्थिरता, निराशा र चर्को आर्थिक संकटले आफै खुम्चिएर, खाँदिएर बसिसकेको अवस्था रहेकोले देशको खातामा आउने संकटले ठूलो असर गर्दैन । तर, कारोबार सारै थोरै भएको अवस्थामा ठूला खेलाडीहरुले शेयर बजार कब्जा गर्ने अवस्था रहन्छ । त्यस्तो अवस्थामा श्रीलंकामा आर्थिक संकटका बीचमा पनि शेयर बजारमा उछाल आएकै जस्तो गरी कृत्तिम मूल्यबृद्धि गराएर सोझा लगानीकर्ताहरुलाई फसाउने सम्भावना भने उत्तिकै रहन्छ । लगानीकर्ताहरुले निराश हुने भन्दा पनि घाटा–नाफा जे जस्तो भएपनि सर्ट टर्म कारोबार गर्न भने नछोड्दा राम्रो हुन्छ । किनभने बजारमा लगानीकर्ता र कारोबार सारै थोरै भएको अवस्थामा केही सीमित व्यक्तिले कृत्तिम रुपमा कारोबार अझै तल ल्याउने वा माथि उकास्ने दुुवै सम्भावना हुन्छ । 


फेरि पनि जतिसुकै निराशा र अभाव भएपनि बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने उपयुक्त अवसर भने यही हो । ३२०० को बिन्दुमा पुग्दा प्रवेश गरेका लगानीकर्ताहरु आज पुर्पुरोमा हात लगाएर बसिरहेका छन् । तर, अहिले प्रवेश गर्ने लगानीकर्ताहरुले पुर्पुरोमा हात लगाएर पक्कै बस्नुपर्नेछैन किनभने शेयर बजार यो भन्दा धेरै तल भर्ने ठाउँ छैन ।

अन्त्यमा शेयर बजारलाई चलायमान बनाउँदै गर्नुपर्दछ । आर्थिक संकट छ भनेर निराशा हुने, ट्रेडिङ गर्नै छोड्दा पनि शेयर बजारमा थप निराशा छाउनेछ । बजार, समग्र अवस्था विश्लेषण गरेर, कम्पनीको वित्तीय अवस्था विश्लेषण गरेर लगानी र कारोबारलाई चलायमान बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न छोड्नु हुँदैन । 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*