इम्पेरमेन्ट चार्ज घटेसँगै जाल्पा सामुदायिक लघुवित्तको नाफा धनात्मक

२३ बैशाख २०८१, आईतवार ०७:३९

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासमा ऋणात्मक रहेकोमा चालु आवमा धनात्मक भएको हो ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा तीन करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा बढेर ६२ लाख ८१ हजार रुपैयाँ धनात्मक भएको छ ।

गत आर्थिक वर्षको समीक्षा अवधिमा ऋणात्मक रहेको कम्पनीको संचालन मुनाफा पनि चालु आवमा धनात्मक भएको छ । गत आवको तेस्रो त्रैमाससम्म तीन करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा ८९ लाख ७३ हजार रुपैयाँ धनात्मक भएको छ ।

चालु आवको समीक्षा अवधिमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा १२.७१ प्रतशित कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवको समीक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी ३० करोड ५३ लाख रुपैयाँ रहेको छ । जुन चालु आवको तुलनामा ८.८१ प्रतिशत कम हो । चालु आवको सोही अवधिमा कम्पनीको कुल संचालन आम्दानी २७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले कर्मचारीहरूमा गर्ने खर्च १०.९८ प्रतिशतले घटाएको छ । गत आवको समीक्षा अवधिमा १८ करोड ३९ लाख रुपैयाँ कर्मचारीहरूमा खर्चिएको थियो । चालु आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७ लाख रुपैयाँ कर्मचारीहरूमा खर्चिएको छ । त्यस्तै, कम्पनीको संचालन खर्च पनि समीक्षा अवधिमा १०.४० प्रतिशतले घटेको छ । गत आवको चैत्र मसान्तसम्म कम्पनीको संचालन खर्च २४ करोड ३० लाख रुपैयाँ रहेकोमा चालु आवमा घटेर २१ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज १० करोड १५ लाख रुपैयाँबाट घटेर पाँच करोड १७ लाख रुपैयाँमा झरेको छ । योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ३२.७० रुपैयाँ ऋणात्मकबाट ४.५८ रुपैयाँ धनात्मक भएको छ । यस अवधिमा कम्पनीको खराब कर्जा ७.४२ प्रतिशतबाट घटेर ७.३९ प्रतिशतमा झरेको छ ।

यता, समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ११ लाख रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २६८.७७ गुणा, प्रतिशेयर नेटवर्थ २८०.२४ रुपैयाँ, तरलता अनुपात १०.०९ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २९६१.८८ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ करोड २८ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ट अर्निङमा ६ करोड ११ लाख रुपैयाँ रहेको छ भने समीक्षा अवधिमा रिजर्भको आकार १७ करोड ६५ लाख रुपैयाँबाट बढेर २६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले चार अर्ब ८२ करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरको छ भने दुई अर्ब ६९ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*