वित्तीय विवरणमा नेपाल लाइफको उत्कृष्ट प्रगति, एक खर्ब ५७ अर्बको जीवन बीमा कोष, आम्दानी २७ प्रतिशतले बृद्धि

२९ बैशाख २०८०, शुक्रबार ०६:५९

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा नेपाल लाइफले उत्कृष्ट नतिजा दिन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमासिक अवधीसम्ममा आईपुग्दा खुद बीमा शुल्क आम्दानी ३ प्रतिशतको बृद्धि हासिल गरेको छ भने लगानीबाट प्राप्त आम्दानी उच्च दरमा बृद्धि हुँदा जीवन बीमा कोषको आकार १९.८३ प्रतिशतले बृद्धि भई एक खर्ब ५७ अर्ब १६ करोड ९१ लाख ६९ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ । महाविपत्ति कोष, जगेडा कोषसहित कम्पनीको कूल कोषको आकार एक खर्ब ५८ अर्ब ४८ करोड पुगेको छ । नेपाली बीमा क्षेत्रमा सर्वाधिक ठूलो जीवन बीमा कोष बनाउने कम्पनी नेपाल लाइफ हो ।

नेपाल लाइफको खुद बीमा शुल्क आम्दानी २५ अर्बबाट बृद्धि भई २६ अर्ब ८३ करोड पुगेको छ । त्यस्तै खुद दावी भुक्तानी ११.४४ प्रतिशतले बृद्धि भई १० अर्बबाट ११ अर्ब ८२ करोड पुगेको छ ।
कम्पनीले उत्कृष्ट व्यवस्थापकीय भूमिका निर्वाह गरेकाका कारण तथा ब्याजदर बृद्धि भएको कारण लगानी, कर्जा लगानी तथा बीमालेख धितोबाट प्राप्त आम्दानी २७ प्रतिशतले बृद्धि भई नौ अर्ब १० करोडबाट बृद्धि भई ११ अर्ब ५७ करोड ४८ लाख ८३ हजार २८४ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । उक्त आम्दानीले कम्पनीको जीवन बीमा कोष र मुनाफा दुवैलाई बृद्धि गर्न भूमिका खेलेको छ ।

 

 

कम्पनीको व्यवस्थापन खर्च ६.५ प्रतिशतले बृद्धि भई एक अर्ब ११ करोडबाट बढेर एक अर्ब १८ करोड पुगेको छ । त्यस्तै बीमा अभिकर्ताहरुले पाउने कमिशनमा १५ प्रतिशतले घटेर दुई अर्ब अर्ब ६३ करोडबाट झरेर दुई अर्ब २३ करोडमा सीमित भएको छ ।

कम्पनीको खुद नाफामा उछाल आएको देखिएको छ । तर, यस्तो हुनुमा फ्युचर बोनस प्रोभिजनको कारण हो । २० प्रतिशत फ्युचर बोनस प्रोभिजन गर्ने व्यवस्थाले कम्पनीले ठूलो रकम प्रोभजन गर्नु पर्दा घाटामा देखिएको थियो । तर, चालु आवमा ४४ करोड ६५ लाख रुपैयाँ मुनाफा देखिएको छ ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १० लाख १० हजार ८७६ रहेको छ । गत आवको तुलनामा बीमा पोलिसी संख्या २८ प्रतिशतले घटेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.२६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६.०१ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य २०९० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*