सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक भुक्तानीलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले आरटिजीएस प्रणाली सञ्चालन गर्ने भएको छ ।
राष्ट्र बैंकले कात्तिक ३० गते सोमबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) सेवा खुला राख्ने निर्णय गरेको हो ।
केन्द्रीय बैंकका अनुसार सार्वजनिक बिदाका कारण ठूलो रकमको वित्तीय कारोबार र भुक्तानी प्रक्रियामा अवरोध नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो ।
आरटिजीएस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरूबीच ठूलो रकमको भुक्तानी तत्काल राफसाफ गर्न सकिन्छ । सेवा सञ्चालनमा रहने भएपछि सम्बन्धित संस्थाहरूले तोकिएको समयभित्र अन्तरबैंक कारोबार गर्न सक्नेछन् ।
सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।











