तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा गिरावट, बजारको दिशा अझै अन्योलमा

२७ कार्तिक २०८३, शुक्रबार १५:०४

काठमाडौं । तिहार बिदापछि खुलेको नेपालको शेयरबजारमा सामान्य गिरावट देखिएको छ। लामो बिदापछि खुलेको बजारमा लगानीकर्ताको उत्साह अपेक्षाकृत कमजोर देखिँदा नेप्से परिसूचक दबाबमा परेको हो। पछिल्लो समय बजारमा देखिएको उतारचढाव, नाफा बुक गर्ने प्रवृत्ति र लगानीकर्ताको पर्ख र हेरको मनस्थितिले बजारको समग्र गतिलाई प्रभावित पारिरहेको देखिन्छ।

तिहारअघि नै शेयरबजारमा कारोबार रकम र परिसूचक दुवैमा केही सुस्तता देखिन थालेको थियो। दशैंपछि बजारमा आएको सुधारले लगानीकर्तामा केही आशा जगाए पनि त्यसले अझै बलियो र दिगो वृद्धिको रूप लिन सकेको छैन।

तिहारअघि बजारमा देखिएको सुस्तताले लगानीकर्ताको मनोविज्ञानमा समेत प्रभाव पारेको देखिन्छ। चाडपर्वका कारण बजार लामो समय बन्द रहने भएपछि कतिपय लगानीकर्ताले जोखिम कम गर्न शेयर बिक्री गर्ने तथा नयाँ लगानीका लागि तत्काल निर्णय नगर्ने हुँदा कारोबार रकममा आएको गिरावटले बजारमा खरिद पक्षको सक्रियता कमजोर रहेको संकेत गरेको थियो।

आज कात्तिक २७ गते शुक्रबार नेप्से परिसूचक ६.४८ अंकले घटेर २६४८.७४ को विन्दुमा कायम भएको छ। यसदिन नेप्सेमा सूचीकृत ३३५ कम्पनीहरुको ७८ लाख ४४ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज १६० कम्पनीहरुको शेयरमूल्य घट्दा ११० कम्पनीहरुको शेयरमूल्य भने बढेको छ। त्यसैगरी ४ उपसूचकमा हरियाली छाउँदा ९ उपसूचक राताम्मे बनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*